• Friday 31st of July 2026

अवरुद्ध सडक पुल सञ्चालनमा ल्याउने तयारी


  • गोकर्णेश्वर अनलाइन

सरकारले बाढीपहिरोका कारण अवरुद्ध पुल सञ्चालनमा ल्याउने तयारी गरेको छ । सडक विभागले पुरिएका सडक पुलमा रहेका अवरोध हटाउने र पुल नै बगाएका स्थानमा बेलिब्रिज राखेर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । असार र साउन महिनाको नियमित वर्षाका कारण देशभरका चार रणनीतिक सडकमा पुल अवरुद्ध भएका थिए । वर्षाका कारण बेनी–जोमसोम–कोरोला सडकको एउटा पुल बग्दा त्यहाँ बेलिब्रिज राख्ने काम भइरहेको छ । पुल बग्दा सो सडक लामो समयसम्म अवरुद्ध रहेको थियो । सडकमा रहेको अवरोध हटाउँदा पनि पुल नबन्दा सडक पूर्णरुपमा सञ्चालनमा आउन नसकेको हो ।

असार २५ देखि अवरुद्ध रहेको अरनिको राजमार्गको एउटा सडक पुलमा रहेको अवरोध हटाउने काम भइरहेको विभागका पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताउनुभयो । अरनिको राजमार्गको झ्यालेको पुल बगाएको र खग्दोल खोलामा पहिरो आएर क्षति भएको डिभिजन सडक कार्यालय चरिकोटले जनाएको छ । उहाँले भन्नुभयो, “हामीले सकेसम्म चाँडो पुलमा रहेको अवरोध हटाएर सुचारु गरिरहेका छौँ ।” पृथ्बी राजमार्गअन्तर्गत मौवा खोलामा माथिबाट आएको पहिरोका कारण सडक झण्डै एक सातासम्म अवरुद्ध थियो ।

अहिले त्यहाँस्थित डिभिजन सडक कार्यालयले पुल सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै, साँफेबगर–मार्तडी सडक पनि पहिरोका कारण अवरुद्ध रहेकामा उपकरण लगेर हटाइरहेको उहाँले बताउनुभयो । पहिरो हटाएको स्थानमा वर्षा रोकिनासाथ एकातर्फी रुपमा सडक खुलाइएको सडक सम्भार महाशाखा प्रमुख भीमार्जुन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडककै कारण आवतजावत रोकिएका स्थानमा हामीले पहिले एकातर्फी खुलाएर विस्तारै अर्काेतर्फ खुलाएका पनि छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology