• Friday 31st of July 2026

उपभोक्ता समितिको कामः न सूचना, न ‘होर्डिङ बोर्ड’


  • गोकर्णेश्वर अनलाइन

–पूर्णप्रसाद मिश्र

उपभोक्ता समितिमार्फत हुने विकास निर्माणका काम कति अपारदर्शी हुन्छन् भन्ने नमूना हेर्न राजधानीस्थित विष्णुमती किनारमा गए हुन्छ । काठमाडौँ महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिर नजिकै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले समेत पिउनयोग्य पानी नआउने भनी प्राविधिक प्रतिवेदन दिएको स्थानमा ‘फिल्टर प्लान्ट’ निर्माण भइरहेको छ । निर्माणस्थलमा स्थानीयवासीलाई जानकारी दिन राखिनुपर्ने सूचना पाटीसमेत छैन । निर्माणस्थलमा सूचना पाटी नराखिँदा के बनाउन लागिएको हो भन्ने स्पष्ट छैन । स्थलगतरुपमा काम गरिरहेका कामदारलाई सोध्दा पानी ट्याङ्की बनाउन लागिएको जानकारी गराए । उपभोक्ता समितिमार्फत् ९० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण भएको भनिए पनि आयोजनास्थलमा भेटिएका रामगोपाल मालीले आफू आयोजनाको निर्माण व्यवसायी भएको बताउनुभयो ।

उहाँले निर्माण कम्पनीको नाम भने खुलाउन चाहनुभएन । उपभोक्ता समितिका नाममा आयोजना सम्झौता गरी निर्माण व्यवसायीलाई दिइएको हुनसक्ने स्थानीयवासीको भनाइ छ । वाग्मती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको खानेपानी तथा सरसफाइ डिभिजन नं ५ भक्तपुरको बजेटमा योजना सञ्चालन भएको हो । वडामा आएको योजनाका बारेमा वडा कार्यालयलगायत तीनै तहका जनप्रतिनिधिले अनुगमन गरेर गुणस्तरीय एवं पारदर्शी काम गराउनुपर्नेमा त्यस्तो हुन नसकेको १९ वडा सरोकार मञ्चका अध्यक्ष सुमन खड्गीले बताउनुभयो । मञ्चले आयोजनाका विषयमा छलफल गर्ने गरेको कार्यक्रममा जनप्रतिनिधि जिम्मेवार नभएको उहाँले गुनासो गर्नुभयो । वडाध्यक्ष शशीलाल श्रेष्ठले प्रदेशको बजेट भएकाले वडाले समेत विस्तृतरुपमा जानकारी पाउन नसकेको बताउनुभयो । चालू आवमा महानगरले त्यो आयोजनाका लागि रु ३० लाख बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा दमैचाघाट उपभोक्ता समितिमार्फत सञ्चालनमा रहेको आयोजनाका बारेमा छलफल गर्न असार तेस्रो साता मञ्चले कङ्केश्वरी मन्दिरको सभाहलमा आयोजना गरेको कार्यक्रममा समितिका पदाधिकारी एवं सदस्य उपस्थित भएनन् । आयोजना कार्यान्वयन गर्ने समितिका पदाधिकारी र स्थानीयवासीलाई जानकारी गराउन उपस्थित नहुँदा विषयको गम्भीरतालाई आशङ्कित बनाएको मञ्चका अध्यक्ष खड्गीले बताउनुभयो । सुशासन ऐन २०६४ मा रु पाँच लाखभन्दा बढीका आयोजना सञ्चालन गर्दा कहिले शुरु भएर कहिले अन्त्य हुने, लागत, निर्माण व्यवसायी वा उपभोक्ता समितिका विषयमा जानकारी दिन सूचना पाटी (होर्डिङ बोर्ड) राख्ने व्यवस्था गरिए पनि त्यो पालना हुन सकेको छैन । समितिका सदस्य शङ्कर महर्जनले आयोजनाका विषयमा बनाइएको सूचना पाटी कार्यालयमै राखिएको दाबी गर्नुभयो ।

आयोजना स्थलमा राख्दा च्यातिदिने भएकाले कार्यालयमा राख्नुपरेको उहाँको भनाइ छ । मञ्चले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड क्षेत्रपाटी शाखालाई पनि यस विषयमा ध्यानाकर्षण गराएको थियो । मञ्चको ध्यानाकर्षणपछि लिमिटेडले समेत समितिलाई पत्राचार गरेको थियो । लिमिटेडले मञ्चलाई फिल्टर प्लान्टबाट उत्पादित पानी प्रशोधन गर्दा पनि पिउन योग्य नहुने भनी प्राविधिक प्रतिवेदन दिएको प्रकाश राईले बताउनुभयो । “त्यहाँको पानीमा धमिलोपना (टर्विडिटी) ६४.६, आइरन ६.३ र एमोनिया ५८ प्रतिशत छ, यी तीनवटा प्यारामिटरका कारण पानी पिउन सकिँदैन, भएकाले घरायसी प्रयोजनका लागि उपयोग गर्न सकिने प्रतिवेदन दिएको हो, प्रशोधनबाट आइरन र धमिलोपना मापदण्डमा ल्याउन सकिने भए पनि एमानिया भने घटाउन सकिँदैन”, उहाँले भन्नुभयो ।

यो आयोजनाले महानगरका वडा नं १५, १७, १८, १९ र २० को अधिकांश क्षेत्रलाई समेट्ने जनाइएको छ । यो क्षेत्रमा धाराको पानी पु¥याउन नसकिएको लिमिटेडको स्वीकारोक्ति छ । महानगरपालिकाको वडा नं १९ मा आठ वटा ढुङ्गेधारा भए पनि हाल दुई वटामा मात्र पानी आउने गरेको वडासदस्य चन्द्रमान डङ्गोलले बताउनुभयो । मरुहिटी र बञ्जाहिटीमा मात्र पानी आउने गरेको उहाँले सुनाउनुभयो । आयोजना सञ्चालन गरेको खानेपानी तथा सरसफाइ डिभिजन नंं ५ भक्तपुरका इञ्जिनीयर कुलप्रसाद शर्माले असार ३ गते रु ४० लाखमा सम्झौता भई फिल्टर प्लान्टको काम गरिएको बताउनुभयो । तीमध्ये रु २० लाख भने फ्रिज भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology