बाढी र डुबानको समस्या बढ्दै गएपछि कैलाली जिल्लामा निर्माण भएको पूर्व—पश्चिम हुलाकी राजमार्ग स्थानीयवासीको सुरक्षित ‘सेल्टर’ (वासस्थान) बन्न थालेको छ । जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग वस्ती भन्दा अग्लो भएपछि डुवानको समयमा स्थानीयवासीको ‘सेल्टर’ बन्न थालेको हो । वर्षा नरोकिएपछि हुनसक्ने डुबानको जोखिमवाट जोगिन स्थानीयवासी यो राजमार्ग छेउमा त्रिपालको टहरा बनाएर बस्न थालेको स्थानीयवासी शिवाल चौधरीले बताउनुहुन्छ । ‘‘वर्षा हुनासाथ स्थानीय वासिन्दा त्रासमा बस्ने गरेका छन्” उहाँले भन्नुभयो, ‘‘नदीको बहाव वस्तीमा पस्ने खतरा देखिँदा स्थानीयवासी राजमार्गलाई आफ्नो सेल्टर बनाउन विवस भएका हुन् ।”
भजनी नगरपालिकका फागुराम चौधरी वर्षेनी माटो, ढुङ्गा, बालुवाले सतह पुरिँदै जाँदा नदी तथा खोलाको सतह बढेर डुबानको समस्या पनि बढ्दै गएको बताउनुहुन्छ । ‘‘पानीको निकास थुनिने गरी गाउँमा विकासका काम हुने र खोला तथा नदीको प्राकृतिक मार्ग बन्द हुने गरी घर संरचना बनाउने प्रवृत्ति बढ्दा पनि डुबानको जोखिम देखिएको हो”, उहाँले भन्नुभयो । सो क्षेत्रमा डुवानको समस्या वर्षेनी बढ्दै जाँदा गर्दा दसकौं अघिदेखिका कतिपय पुराना वस्ती नै स्थानान्तरण गर्नु पर्ने देखिएको छ । मोहना नदीको बाढी र डुबानका कारण भजनी नगरपालिका७ मा रहेको झण्डै ५०० बिघा क्षेत्रफलको प्राकृतिक पुरैना ताल पुरिएको छ । ‘‘विसं २०६५ मा आएको बाढीको कटान र डुबानले सो ताल कटान हुने र पुरिन थालेको थियो”, शिवलालले भन्नुभयो, ‘‘कटानसँगै बाढीले बगाएर ल्याएको माटो बालुवाले पुरिँदा अहिले तालको निसाना समेत छैन ।”
यो महिनामा नदीको बहाव बढेर भएको कटानको समस्याले कतिपय ठाउँको हुलाकी राजमार्ग कटान हुँदा आवागमन समेत असहज बनेको छ । डुवान र कटानको समस्याले चार ठाउँमा राजमार्ग कटान भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीका प्रमुख रामपुकार जैसवालले बताउनुभयो । ‘‘राजमार्गको साइडमा नालीसहितको ‘दुई लेन’को सडक बनाउन लागिएको छ”, जैसवालले भन्नुभयो, ‘‘डुबान र कटान भएका ठाउँमा पानी निकासको व्यवस्था गर्न आवश्यक कल्भर्टहरु थप्न लागिएको छ ।”
हुलाकी सडकलाई ‘दुई लेन’को सडक बनाउनका लागि प्रक्रिया अघि बढेकामा वर्षायामपछि काम शुरु गर्न लागिएको जनाइएको छ । भजनी नगरपालिकाको वडा नं २, ३, ५, ६, ७ र ८ मा नदी कटान र डुबानको बढी समस्या छ । यो महिनामा भएको डुबान र कटानको समस्याले नगर क्षेत्रका एक हजार ६७१ भन्दा बढी परिवार विस्थापित भएका छन् । ठूलो क्षेत्रफलमा गरिएको धानबाली नष्ट भएको छ । विस्थापितमध्ये कतिपय हुलाकी राजमार्गमा टहरा बनाएर बसेकोमा अन्य परिवार स्थानीय विद्यालय र आफन्त कहाँ आश्रय लिइरहेका छन् ।
नगरपालिकाको वर्षेनी रु एक करोडभन्दा बढी बजेट नदी नियन्त्रणसम्बन्धी योजनामा खर्च हुने गरेको छ । नदी नियन्त्रणका लागि प्रयास भइरहेको भएपनि नगरपालिकासँग बजेटको क्षमता धेरै नहुँदा काम प्रभावकारी हुन नसकिरहेको नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले बताउनुभयो । ‘‘दीर्घकालीन योजना बनाएर प्रयाप्त स्रोत साधनसहित नदी तटबन्धन गर्नु पर्ने जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो । कैलाली जिल्लामा नदीको बाढी बस्तीमा पस्दा दक्षिण पूर्वी क्षेत्रको साबिकको भजनी, जानकीनगर, धनसिंहपुर, नारायणपुर, लालबोझी, पथरैयालगायतका होचो भूभागका बस्ती डुबान र कटानमा पर्ने गरेका छन् ।
