• Friday 31st of July 2026

भरतपुर महानगरमा एकहप्ता लकडाउन


  • गोकर्णेश्वर अनलाइन

भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरभित्र कोरोना तीव्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आह्वान गरिएको उहाँले दिनुुुभयो । अति आवश्यक क्षेत्रलाई विशेष निगरानीसहित निश्चित समय सञ्चालन गर्न दिइने गरी लकडाउन गरिनेछ”, उहाँले भन्नुभयो, “जो जहाँ छ त्यही रहने गरी लकडाउन गरिँदैछ ।”

महामारीबाट बच्नका लागि लकडाउन बाध्यता भएको जनाउँदै उहाँले जति कष्ट भए पनि हामी सबैले स्वीकार गर्नु परेको बताउनुभयो । राजमार्गमा अतिआवश्यक सवारी मात्र चल्न दिने, दूध, तरकारी, मासुलगायतका अतिआवश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्री आवागमन पूर्णरुपमा निस्तेज हुने गरी लकडाउन आह्वान गरिँदैछ । महानगरका वडामार्फत टोल सुधार समितिलाई सबैलाई सतर्क भई घरमा नै रहन सन्देश प्रवाह गरिँदै छ । महानगरको विपद् व्यवस्थापन इकाइ, दमकल, नगरप्रहरी, महानगरका सीमित कर्मचारी परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने महानगरप्रमुख दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

महानगरभित्रका अस्पताल, आइसोलेशन र क्वारेन्टिनलाई प्रभावकारी बनाइनेछ । उपचारमा विशेष ध्यान दिने उहाँले बताउनुभयो । समितिको बैठकमा महानगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, यातायात व्यवसायीलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो । महानगर क्षेत्रमा हालसम्म ९३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । ती मध्ये ७० पुरुष , २३ महिला रहेका छन् । ती मध्ये एकजनाको मृत्यु भएको छ । रात्रिकालीन जाँच शुरु जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला भित्रने विभिन्न नाकामा रात्रिकालीन जाँच शुरु गरेका छ । प्रमुख जिल्ला अधिकारीको अगुवाइमा जिल्लामा रहेका सुरक्षा निकाय प्रमुखको सहभागितामा जिल्लाका नाकामा जाँच शुरु गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार रात्रिकालीन जाँच शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, ट्राफिक प्रदेश कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख, कालीबहादुर गण भरतपुरका प्रमुखसहितको टोलीले जिल्ला भित्रने पाँच वटा नाकामा कडाइका साथ राति ९ बजेदेखि जाँच गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुनसक्ने प्रवेशलाई रोक्नका लागि जाँचमा कडाइ गरिएको हो ।”

रातको समयमा हिँड्डुल गर्ने, मानिस ओसारपसार गर्ने, रात्रिकालीन जमघटलगायतका कार्यलाई निरुत्साहित गर्नका लागि रातिमा जाँच थालिएको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “दिनमा बजारको अनुगमन गर्छौं । रातमा सडक र बस्तीको ।” बजारमा अनावश्यक हिँड्डुल गर्नेलाई नियन्त्रण गर्न र व्यवसाय सञ्चालन गर्नेलाई सामाजिक दूरी कायम गराउन दिनमा बजार अनुगमन गरिएको उहाँले बताउनुभयो । कोरोना भाइरस समुदायमा तीव्र गतिमा फैलन सक्ने भन्दै दिवा तथा रात्रिकालीन अनुगमनलाई प्राथमिकतामा राखी काम शुरु गरेको उहाँले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो, “रातिमा माडी क्षेत्रमा इलाका प्रशासन कार्यालय माडीको अगुवाइमा अनुगमन गरिएको छ भने लोथरदेखि मौवा खोलासम्म र पुलचोकमा प्रजिअ अगुवाइमा अनुमगन थालिएको छ ।”

अनुगमनका क्रममा मास्क नलगाइ हिँडडुल गरेको, व्यापार व्यवसाय गर्दा सामाजिक दूरी कायम नगरेको, मास्कको प्रयोग नगरेको, रातिमा मान्छे ओसारपसार गरेको, हिँडडुल गरेको, रात्रिकालीन जमघट गरेको पाइएमा कानूनअनुसार कारवाही गरिने उहाँले जानकारी दिनुभयो । आवश्यकताअनुसार अझै कडाइ गरिँदै लैजाने सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology