• Friday 31st of July 2026

लोप हुँदै २०० वर्ष पुरानो ‘बुट्टेनली’


  • गोकर्णेश्वर अनलाइन

बागलुङ जिल्लाको धेरै पहिचान छन् । तीमध्ये जिल्लाको बुट्टेनली देशभर प्रख्यात छ । जिल्लाको पहिचानका रूपमा स्थापित बुट्टेनली पछिल्ला वर्षमा लोप हुने अवस्थामा पुगेको छ । बागलुङ भित्रिने जो कोहीले बुट्टेनलीका बारेमा चासो राख्छन् । जिल्लाको चिनोका रूपमा लैजान खोज्दछन् तर अहिले बुट्टेनली पाउनै छोडिएको छ । संस्कृति र परम्परागत हिसाबले महत्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा बनाइने बुट्टेनली बागलुङको पहिचानका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा प्रख्यात रहे पनि पुस्ता हस्तान्तरण नहुँदा २०० वर्ष पुरानो बुट्टेनली लोपोन्मुख अवस्थामा पुगेको हो ।

बुट्टेनली बनाउन स्थानीय युवा र अन्य व्यक्ति आकर्षित नहुनु, कच्चा पदार्थको अभावलगायतका कारण बुट्टेनली लोप हुन थालेको स्थानीय अगुवा बताउँछन् । बागलुङमा बाहिरबाट आउने पर्यटक तथा पाहुनाले सम्झनाको चिनोस्वरूप किनेर लैजाने र उपहार दिने बुट्टेनली बनाउने कलाकार तथा बुट्टेनली बनाउन प्रयोग हुने निगालो बाँसको पनि अभाव खड्किएको छ । अहिले बुट्टेनली बनाउने कला कौशल भएका बागलुङमा एकमात्र पात्र वसन्तजङ्ग राजभण्डारी हुनुहुन्छ । बागलुङ बजारको स्थानीयबासिन्दा राजभण्डारी विगत ३८ वर्षदेखि बुट्टेनली निर्माण र संरक्षणमा सक्रिय भए पनि अन्य मानिसले बुट्टेनली निर्माण गर्न नजान्दा समस्या भएको छ । काष्ठकला कुँद्न सिपालु कलाकारले निगालो बाँसको नलीमा विभिन्न खाले ऐतिहासिक तथा राजनीतिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयुर, फूल, दृश्य, पौराणिककालदेखि आधुनिककालका सांस्कृतिक दृश्य र प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुँदेर तयार पारिएको बाँसलाई बुट्टेनलीको रूपमा लिइँदै आएको छ ।

यस्ताखाले बुट्टेनली तयार पार्ने कलाकारकोे अभावका कारण मसिना बाँस वा निगालोमा विभिन्न चित्र र प्रारूप उतार्दै तयार पारिने बुट्टेनली छिटफुट मात्र देखिन थालेको छ । देवीदेवता, पृथ्वीनारायण शाहदेखि वीरेन्द्र शाहसम्मका राजा, नेपालका प्राकृतिक छटा र वन्यजन्तु तथा कलात्मक चित्र कोरेर बुट्टेनली बनाउन सकिन्छ । “केही वर्षअघिसम्म बागलुङको चिनारीकोे रूपमा आगन्तुक पाहुनाले खोजीखोजी किनेर लैजाने बुट्टेनली बनाउने व्यक्ति, उचित प्रचार प्रसार तथा स्रोत, साधनकोे अभाव हुँदा लोप हुन लाग्यो”, राजभण्डारीले भन्नुभयो, “बुट्टेनली निर्माण गर्नेे सीप हस्तान्तरण नहुनु, युवा पुस्ताको आकर्षण नहुनु जस्ता कारणले बुट्टेनली लोप हुनेभएको छ ।” बुट्टेनलीको संरक्षणका लागि सबै गम्भीर बन्नुपर्ने अवस्था आएको राजभण्डारी बताउनुहुन्छ । उहाँका अनुसार एउटा बुट्टेनली बनाउन चारदेखि पाँच दिनसम्म समय लाग्ने गरेको छ ।

विभिन्न खालका चित्र कोरेर निर्माण गरिने नलीलाई रु तीन हजारदेखि पाँच हजारसम्म र बाँसुरी तथा मुरलीलाई रु दुई हजार पर्ने उहाँको भनाइ छ । बुट्टेनली बनाउने नयाँ प्रविधि नहुँदा धेरै समय र खर्च लाग्छ । बागलुङमा बुट्टेनली बनाउने कलाकार (कालिगड) धेरैलाई तयार गर्न खोजे पनि आफू एक्लो भएको राजभण्डारी बताउनुहुन्छ । उहाँभन्दा अगाडि बागलुङ बजारमा बाबुराम बज्राचार्य हुनुहुन्थ्यो । उहाँको देहान्त भइसकेको छ । बागलुङ उद्योग वाणिज्य सङ्घ र बागलुङ हस्तकला सङ्घले जिल्ला कारागार बागलुङका केही कैदीबन्दीलाई केही वर्षअगाडि बुट्टेनलीसम्बन्धी तालिम दिए पनि बजारको समस्याका कारण हराउन थालेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारी बताउनुहुन्छ ।

बुट्टेनलीलाई बचाउन तीन वर्षअघि बागलुङ उद्योग वाणिज्य सङ्घले जिल्लामा रहेको धौलागिरि बहिरा आवासीय विद्यालयका २० विद्यार्थीलाई समेत बुट्टेनलीको तालिम प्रदान गरेको सङ्घका अध्यक्ष राजभण्डारीको भनाइ छ । यद्यपि उनीहरुले सिकेको सीप व्यवहारमा नल्याउँदा समस्या भएको छ । हस्तकला शिल्पीहरुले तयार पार्ने बुट्टेनली, नेपाली कागज र अल्लोको धागो बागलुङका चिनोका रूपमा मानिन्छन् । बागलुङका हस्तकला तथा संरक्षणप्रेमी अब बुट्टेनली इतिहासमा मात्र सीमित हुने हो कि भन्ने चिन्तामा देखिन्छन् । विसं १९९० तिर एउटा बुट्टेनली बनाएबापत कलाकारले मोहोरमा बिक्री गर्ने भए पनि अहिले मूल्य बढेको तर एक जनाले मात्र बनाउने बुट्टेनलीले समेत बजार पाउन मुस्किल परेको बताइएको छ ।

बागलुङको चिनारीलाई संरक्षण र प्रवद्र्धन गर्न सकेमा पर्यटन विकासमा टेवा पुर्याउन सकिने बागलुङ हस्तकला सङ्घका संरक्षक तथा साहित्यकार प्रेम छोटा बताउनुहुन्छ । दुई सय वर्षभन्दा पुरानो इतिहास बोकेको बुट्टेनलीलाई बागलुङकै पुरानो कला संस्कृतिका रूपमा लिइँदै आएको छोटाले बताउनुभयो । यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा स्थानीय सरकारले नै विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology