• Saturday 1st of August 2026

कोल्टीमा एक महिनादेखि विद्युत् सेवा अवरुद्ध


  • गोकर्णेश्वर अनलाइन

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिकाको दानसाँघुमा रहेको बड्डीगाड लघु जलविद्युत् एक महिनादेखि अवरुद्ध बनेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सो क्षेत्रका ९०० घरपरिवार प्रभावित भएका छन् । विद्युत्को नहर माथितिर सडक खनिएकाले सो क्षेत्रमा पहिरोले बगाउन थालेपछि एक महिनादेखि विद्युत् सेवा अवरुद्ध बनेको हो । पहिरोले नहर भत्काउन थालेकाले विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् । लामो समयसम्म विद्युत् अवरोध भएपछि बजारमा सञ्चालन हुने विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका कामकाज ठप्प हुनुका साथै कोल्टी बजारमा सञ्चालन भएका इलेक्ट्रोनिक पसलसम्म कामकाज गर्न असहज भएको व्यापारीले दुखेसो पोखेका छन् ।

अविरलको वर्षाले माथिबाट पहिरो आएर नहरलाई क्षति गरेपछि बजार तथा गाउँघरमा बत्ती बाल्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न नपाएको उपभोक्ताको गुनासो छ । नहर बनाउन कामदार लगाएर बनाएको विद्युत् चलाएको एक÷दुई दिन नबित्दै सडकबाट पहिरो आएर नहर अवरुद्ध हुने गरेकाले पटक–पटक यसरी नहर बिग्रिने गरेको बूढीनन्दा–३ का धन बोहराले बताउनुभयो । विद्युत एक महिनादेखि अवरुद्ध भएको विद्युत् सञ्चालक समितिले स्वीकार गरेको छ । समिति र गाउँले मिली नहर बनाएर विद्युत् सञ्चालनमा ल्याए पनि पहिरो आएर नहर पुरिएकाले सञ्चालनमा ल्याउन सम्भव नभएको बड्डीगाड लघु जलविद्युत्का व्यवस्थापक ध्रुव रेग्मीले जानकारी दिनुभयो ।

विद्युत् सेवा अनियमित

जिल्ला सदरमुकाम मार्तडीमा उज्यालोको एक मात्र विकल्पका रूपमा रहेको त्रिवेणी साना जलविद्युत् आयोजना बेलाबेला बिग्रिने गरेको छ । यसबाट जिल्लाकै प्रमुख केन्द्र जिल्ला सदरमुकामवासी अँध्यारोमा बस्न बाध्य मात्र छैनन्, बिजुलीकै कारण हैरान व्योहोर्न बाध्य छन् । विद्युत् प्राविधिकरणको लाइन विस्तार सदरमुकाम मार्तडीमा भइसक्दा पनि अस्तव्यस्त रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रले विकल्प दिन सकेको छैन । एक हजार ५०० उपभोक्ताबाट मासिक शुल्क असुली गर्दै आएको त्रिवेणीले सेवा भने गुणस्तरीय दिन नसकेको आरोप लाग्दै आएको छ । सेवा र शुल्क तिर्नुपरे पनि उज्यालो नपाउने गरेको गुनासो उपभोक्ताको छ ।

सरकारको प्रमुख प्रशासनिक निकाय रहेको क्षेत्र भए पनि सबै मौन देखिएका छन् । त्रिवेणीले नयाँ मेशिन जडान नगरेसम्म र नहरको दिगो समाधान नभएसम्म बिजुलीको समस्या उपभोक्ताले भोगिरहनुपर्ने छ भने बिजुली आए पनि नआए पनि मासिक शुल्क तिर्नुपर्ने बाध्यता कायमै छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology