• Tuesday 28th of July 2026

थाइल्याण्डको सरकारका विरुद्ध हजारौँको प्रदर्शन


  • गोकर्णेश्वर अनलाइन

१ भदौ (रासस÷एएनआई) : थाइल्याण्डको सरकारका विरुद्धमा थाइ राजधानी बैंककमा आइतबार हजारौँ जना नागरिक जम्मा भएर प्रदर्शन गरेका बताइएको छ । उनीहरुले थाइ सरकारको वहिर्गमनको माग गरेका थिए । राजधानी बैंककमा जम्मा भएका हजारौँ नागरिकले प्रधानमन्त्री प्रयुथ चान ओचाको राजीनामा मागेका छन् । उनीहरुले विपक्षी दलहरुमाथि भएको दमनको अन्त्य गर्न र नयाँ तथा प्रजातान्त्रिक संविधान ल्याउनका लागि वर्तमान प्रधानमन्त्री ओचाले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । यहाँका विपक्षीहरुले पूर्व सैनिक शासक ओचाको राजीनामा विगत लामो समयदेखि नै माग्दै आएका छन् ।

उहाँ पूर्व सैनिक शासक हुनुहुन्थ्यो र गत वर्षको विवादास्पद निर्वाचन जितेर सत्तामा आउनुभएको थियो । यहाँ कम्तीमा पनि २० हजार जना थाई नागरिक सरकार विरोधी प्रदर्शनमा सहभागी भएको फ्रि युथ मुभमेन्टका एकजना नेताले बताए ।फ्रि युथ मुभमेन्ट यहाँका विद्यार्थी संगठनहरुले सरकारका विरुद्धमा आन्दोलन गर्नका लागि निर्माण गरेको एउटा मोर्चा हो । उक्त मोर्चाका नेताले यहाँ सरकारका विरुद्धमा आन्दोलन सुरु भइसकेको र ठूलो संख्यामा नागरिक सडकमा आएको बताएका छन् । आन्दोलनमा जम्मा भएका करिब १९ हजार नागरिकले वर्तमान संविधान फेरेर नयाँ लेख्नुपर्ने भन्दै सरकारलाई हस्ताक्षर गरेर बुझाएका छन् । थाइल्याण्डको संविधान त्यहाँ सैनिक शासन रहेका बेला सन् २०१४ देखि २०१९ को अवधिमा बनाइएको हो । उक्त संविधान प्रजातान्त्रिक नभएको भन्दै यसको पुनः लेखन उनीहरुको माग छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology