यो वर्षको जसुदा प्रधान स्मृति पुरस्कारबाट नागरिक दैनिककी पत्रकार भाषा शर्मा सम्मानित हुनुभएको छ । ‘महिला सम्पादक भएका म्यागेजिन ः निरन्तरतामा चुनौती’ विषयमा शोध गरेबापत उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो । आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा सुरेश आचार्यले प्रशंसापत्रसहित रु २५ हजार राशिको उक्त पुरस्कार प्रदान गर्नुभयो । त्यस अवसरमा उहाँले ‘ऋचा’ र ‘ अस्मिता’ जस्ता नारी प्रधान म्यागेजिनले महिलाका सशक्त कलमबाट प्रस्फुटित समाचार र विचारले समाजका साथै सञ्चार जगतलाई लाभान्वित तुल्याएको तर कालान्तरमा ती बन्द भएका यथार्थ सुनाउदै पत्रकारितामा नारी जगत अझै सशक्त हुने वातावरण नबनेको विचार व्यक्त गर्नुभयो ।
जसुदा प्रधान स्मृति कोषका अध्यक्ष पुष्पराज प्रधानले पुरस्कार एकआपसमा लेनदेनजस्तो भइरहेको अहिलेको अवस्थामा नयाँ काम गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले शर्माको शोधलाई यो वर्षको पुरस्कार प्रधान गरिएको बताउनुभयो । साप्ताहिक ‘संरचना’की सम्पादक जसुदा प्रधानले उक्त साप्ताहिकका साथै ‘पिपल्स रिभ्यू’ अङ्ग्रेजी साप्ताहिकका माध्यमबाट तीन दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा गर्नुभएको योगदानलाई चिरस्थायी तुल्याउन जसुदा प्रधान स्मृति कोष स्थापना गरी पुरस्कारको व्यवस्था गरिएको होे । उहाँको २०६७ साउनमा निधन भएको हो ।
