• Saturday 1st of August 2026

नगरपालिकालाई शववाहन हस्तान्तरण


  • गोकर्णेश्वर अनलाइन

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइले व्यास नगरपालिकालाई शववाहन हस्तान्तरण गरेको छ । एकाइले विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको शववाहन नगरपालिकालाई हस्तान्तरण गरेको हो । एकाइ सभापति राजकुमार श्रेष्ठले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई सोमबार शववाहनको साँचो हस्तान्तरण गर्नुभयो । नगरपालिकाभरि नै एउटा पनि शववाहन नभएको अवस्थामा सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने गरी शववाहन हस्तान्तरण गरिएको एकाइ सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

“एकाइले दमौलीमा सात वर्ष एम्बुलेन्स सञ्चालन ग¥यो, विगत एक वर्षदेखि शववाहन सञ्चालन गर्दै आएको थियो”, श्रेष्ठले भन्नुभयो, “शववाहनको चालक पाल्न गाह्रो भएपछि सम्पूर्ण जिम्मा नगरपालिकालाई हस्तान्तरण गरेका छौँ ।” उहाँका अनुसार सवारी चालकलाई मासिक रु २२ हजारभन्दा बढी तलब दिनुपथ्र्यो । “कुनै महिनामा एउटा पनि शव नआउँदा एकाइलाई भार पर्यो, नगरपालिकामा सवारी चालक नै छन्, उनीहरुलाई नै शववाहन चलाउने जिम्मेवारी दिन सकिन्छ”, उहाँले भन्नुभयो । नगरप्रमुख न्यौपानेले शववाहन हस्तान्तरण गरेकामा एकाइलाई धन्यवाद ज्ञापन गर्दै अब यसको सम्पूर्ण व्यवस्थापन नगरपालिकाको रहने बताउनुभयो ।

घरवारविहिनको विवरण विपद् समितिमा पठाइने

व्यास नगरपालिकाले गत असार २९ र त्यसपछि परेको वर्षाका कारण आएको बाढीपहिरोले क्षति भएका घरहरुको विवरण जिल्ला विपद् समितिमा पठाउने भएको छ । बाढीपहिरोले घर क्षति भएकाहरुलाई सरकारले राहत दिने निर्णय गरेपछि नगरपालिकाले त्यस्ता घरहरुको विवरण विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको हो । कार्यपालिकाको बैठकले क्षति भएका घरहरुको विवरण वडाबाट सङ्कलन गरी विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार भदौ १४ गतेभित्र वडाहरुबाट क्षति भएका घरहरुको विवरण सङ्कलन गर्ने निर्णय गरिएको छ ।

बैठकले कोभिड–१९ को नियन्त्रण, उपचार एवं रोकथामका लागि हालसम्मको प्रगति विवरणउपर समीक्षा गर्नुका साथै क्वारेन्टिनको वैकल्पिक व्यवस्थाका लागि नगरपालिकाभित्रका सामुदायिक भवनलाई प्रयोग गर्ने निर्णय गरेको छ । साथै नगरसभाबाट पारित वडा र नगरस्तरीय योजना कार्यान्वयन गर्न कार्य प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । कोभिड–१९ र लकडाउनका कारण नगरसभाले पारित गरेका विकास योजना प्रभावित भएका छन् । बैठकले व्यास–३ देउरालीनगरमा रहेको निर्माणाधीन बधस्थलको अधुरो कार्य सम्पन्न गर्न तत्काल प्रक्रिया अगाडि बढाउने, फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि हाल सम्भाव्य देखिएको व्यास–४ र १० को बीचमा पर्ने सामुदायिक वन क्षेत्रमा रहेको स्थानको प्रारम्भिक वातावरणीय अध्ययन (आइई) गर्ने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology