• Saturday 1st of August 2026

बस्ती स्थानान्तरण नहुदै पहिराको जोखिममा नयाँबस्ती


  • गोकर्णेश्वर अनलाइन

वर्षात्सँगै हरेक वर्ष आउने पहिराका कारण मानवीय र भौतिक क्षति व्यहोर्दै आएको रोल्पामा यस वर्ष पनि प्रकोपले जनधनको क्षति हुने क्रम रोकिएन । पहिराका कारण सुनछहरी गाउँपालिका­१ मा निर्माण गर्न थालिएको बस्ती विकास कार्यक्रम स्थानान्तरण हुनुअघि नै प्रभावित भएको छ । सुनछहरी गाउँपालिका­१ फुलिवन पहिराको उच्च जोखिममा रहेको भन्दै अघिल्लो वर्ष बस्ती स्थानान्तरण थालिएको थियो । चालिस घरधुरी रहेको सो गाउँ नै पहिराको उच्च जोखिममा रहेपछि प्रदेश सरकारले बस्ती स्थान्तरणका लागि रु १५ करोड बजेट विनियोजन गरेको थियो । सोही वडाका बाछेधारा र झम्कीधारामा नयाँ बस्ती विकासको काम थालनी भएको थियो ।

केही दिनअघि आएको अविरल वर्षाका कारण सो नयाँबस्तीमा समेत पहिराको जोखिम देखिन थालेपछि स्थानीयवासी चिन्तित देखिएका छन् । पुरानो बस्ती पहिराको अत्यधिक जोखिममा रहेपछि नयाँ स्थान छनोट गरी बस्ती स्थानान्तरणका लागि भवन निर्माण भइरहँदा नयाँबस्ती तलबाट आएको पहिराले तीन घरमा क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले जानकारी दिनुभयो । लामो समयदेखि पहिराको जोखिम व्यहोर्दै आएका स्थानीयवासीको सुरक्षित बसोबासका लागि नयाँ बस्ती छनोट गरी बस्ती विकास कार्यक्रम सञ्चालन भइरहेका बेला सो ठाउँ पनि पहिराको जोखिममा देखिन थालेको देख्दा चिन्ता लागेको अध्यक्ष पुन बताउनुहुन्छ । प्रदेश सरकारले ४० घरधुरीका लागि नयाँबस्ती विकास थालेको थियो ।

नयाँबस्ती विकासका लागि प्रतिघर रु तीन लाख ५० हजारका दरले घर निर्माणका लागि बजेट उपलब्ध गराएको छ । यसका साथै प्राथमिक तहको विद्यालय, खानेपानी, सडक, सामुदायिक भवन, विद्युत् तथा तटबन्धसमेतको काम गरिने गाउँपालिकाले जनाएको छ । व्यक्तिगत घर निर्माणका लागि प्रदेश सरकारले सम्बन्धित घरधुरीकै बैंक खातामा बजेट उपलब्ध गराएको थियो भने विद्यालय, सामुदायिक भवन, सडक, खानेपानी, विद्युत् र तटबन्धनका लागि बोलपत्र प्रक्रियाद्वारा निर्माण भइरहेको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको सो योजना कोभिड­९१९ का कारण प्रभावित भएको थियो ।

चालु आर्थिक वर्षमा योजना सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ । जिल्लाका गङ्गादेव र माडी गाउँपालिकामा यस वर्ष गएको पहिराका कारण छ जना घाइते भएका थिए । पहिराले दर्जनभन्दा बढी घरमा क्षति पुग्नाका साथै पशुपक्षीसमेत मरेका थिए । अघिल्लो वर्ष थवाङ र सुनछहरी गाउँपालिकामा आएको पहिरामा परी छ जनाको मृत्यु हुनाका साथै ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology