• Tuesday 28th of July 2026

सिरिया, इराकमा १० हजारभन्दा बढी इस्लामिक स्टेटका लडाकू सक्रियः राष्ट्रसंघ


  • गोकर्णेश्वर अनलाइन

संयुक्तराष्ट्र संघ (रासस–एपी) –– सिरिया र इराकमा इस्लामिक स्टेट समूहका १० हजारभन्दा बढी लडाकू सक्रिय रहेको प्रतिआतंकवाद सम्बन्धी राष्ट्रसंघीय प्रमुखले बताउनुभएको छ । अमेरिका समेतका बहुराष्ट्रिय सेनाको सहयोगले दुई वर्षअघि आतंकवादी संगठन इस्लामिक स्टेट परास्त भएको घोषणा गरिएको थियो । राष्ट्रसंघीय सुरक्षा परिषदमा प्रतिआतंकवाद सम्बन्धी प्रमुख भ्लादिमिर भोरोनकोभले दुई देशमा इस्लामिक स्टेटका लडाकूहरु स्वतन्त्र रुपमा घुमफिर गरिरहेको जानकारी दिनुभयो । उहाँले इस्लामिक स्टेटले धेरै स्थानमा पुनः संगठित हुन थालेका र उनीहरुका कृयाकलापहरु द्वन्द्वग्रस्त मुलुकहरु इराक र सिरिया मात्र नभई क्षेत्रीय आतंकवादी संगठनहरुसँग साँठगाँठ गर्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तथापी गैर–द्वन्द्वग्रस्त क्षेत्रमा छोटो समयका लागि उनीहरुको प्रभाव कमै देखिएको छ । कोरोनाभाइरस रोक्न लकडाउन र अन्य प्रतिबन्धात्मक व्यवस्थाले मानिसको हिँडडुलमा कडाई गरिएका कारण आतंकवादी हमलाहरु न्यून भएका छन् ।” उहाँले कोभिड–१९ संकटका कारण आतंकवादको त्रासलाई समाप्त गर्न चुनौती खडा भएको चर्चा गर्दै कोभिड–१९ को आडमा सिर्जित सामाजिक–आर्थिक र राजनीतिक संकटबाट इस्लामिक स्टेट र अन्य आतंकवादी समूहहरुले फाइदा उठाउन सक्ने बताउनुभयो । तर भोरोनकोभले कोरोना महामारीबाट सिर्जित असरले आतंकवादी समूहमा भर्ना र रकम उठाउने कार्यहरुमा के प्रभाव परेको छ भन्ने स्पष्ट भइनसकेको बताउँदै इस्लामिक स्टेटका नेता अबु इब्राहिमको नेतृत्वमा संगठनको रणनीतिका दिशामा कुनै परिवर्तन आएको वा नआएको बारेमा स्पष्ट भइनसकेको बताउनुभयो ।

पश्चिम अफ्रिकामा इस्लामिक स्टेटमा आबद्ध करिब ३ हजार ५०० लडाकू सक्रिय रहेको र त्यसबाट क्षेत्रीय शान्तिमै खतरा उत्पन्न भइरहेको भोरोनकोभले बताउनुभयो । लिबियामा सानो संख्यामा सक्रिय इस्लामिक स्टेटले स्थानीय जातीय तनाबलाई आफ्नो पक्षमा उपयोग गर्न प्रयास गरिरहेको उहाँको भनाई छ । उहाँले अन्तर्राष्ट्रिय समुदायले इस्लामिक स्टेटबाट सिर्जित चुनौती नियन्त्रणमा ल्याउन समयमै ध्यान नदिए विश्वभर नै यसले समस्या खडा गर्न सक्ने चेतावनी दिनुभयो । राष्ट्रसंघका लागि अमेरिकी राजदूत केल्ली क्राफ्टले राष्ट्रसंघका जायज चासोलाई सम्बोधन गर्न अमेरिकी प्रशासन तत्पर रहेको बताउँदै इराक र सिरियामा नियन्त्रणमा रहेका विदेशी लडाकू र उनीहरुका परिवारका सदस्यका कारण इस्लामिक स्टेटको पुनरुत्थान हुने परिस्थिति रोक्न अमेरिका सचेत रहेको पनि स्पष्ट गर्नुभयो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयन गर्न तथा इराक र सिरियाको गृहयुद्धका कारण अलपत्र परेका महिला, पुरुष र बालबालिकालाई आ–आफ्ना मुलुक फर्काउन आग्रह गर्नुभयो । राष्ट्रसंघका लागि रुसी राजदूत भास्सिली नेबेन्जियाले इस्लामिक स्टेटबाट सिर्जित विश्वव्यापी आतंक उच्च तहमा अझै रहेको र त्यसको नेतृत्वले सिरिया र इराकबीचको सीमावर्ती क्षेत्रमा आतंकवादी हमलाहरु गर्न योजना बनाइरहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology