• Saturday 1st of August 2026

नदी कटानका कारण फोहर व्यवस्थापनमा समस्या


  • गोकर्णेश्वर अनलाइन

फोहर फाल्ने ठाउँ मादी नदीले कटान गरिदिएपछि तनहुँको व्यास नगरपालिकाले विगत एक महिनादेखि बजार क्षेत्रबाट फोहर सङ्कलन गर्न सकेको छैन । व्यास नगरपालिका–३ स्थित भतेरीमा मादी नदीले कटान गरेपछि एक महिनादेखि बजार क्षेत्रको फोहर उठ्न नसकेको हो । नगरपालिकाले बजार क्षेत्रबाट सङ्कलन गरेर बिसर्जन गर्ने ठाउँ मादी नदीले कटान गरिदिएपछि समस्या भएको व्यास नगरपालिका सरसफाइ उपशाखाका प्रमुख भाग्यशाली ढुङ्गानाले जानकारी दिनुभयो । “नगरक्षेत्रबाट सङ्कलन गरिने फोहरमैला मादी नदी नजिकको भतेरीमा फाल्ने गरिन्थ्यो, मादीमा आएको बाढीले उक्त ठाउँ नै कटान गरिदिएर फोहर पनि बगाइदियो,” ढुङ्गानाले भन्नुभयो, “ठाउँ अभावमा अहिले बजार क्षेत्रको फोहर उठाउन सकेका छैनौ ।”

व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको थियो । कोभिड–१९ का कारण नगरपालिकामा बन्दाबन्दी भएकाले पसलहरु बन्द रहेपनि घरबाट निस्कने फोहरमैला व्यवस्थापन गर्नेतर्फ नगरपालिकाले सोच्नुपर्ने व्यास नगरपालिका–२ निवासी विकास खनालले बताउनुभयो । सरसफाइ उपशाखा प्रमुख ढुङ्गानाले भने केही दिनभित्रै नियमित रुपमा फोहर सङ्कलन गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । भतेरीमा रहेको बाबुलाल श्रेष्ठको केही जग्गा दुई तीन महिना लिएर उक्त ठाउँमा फोहर व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो । वर्षाले भतेरी जाने बाटो बिग्रिएपनि नगरपालिकाले बाटो मर्मत भने गरिसकेको छ ।

फोहर बिर्सजनका लागि वैकल्पिक व्यवस्थापन गर्न बजार क्षेत्रका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको टोलीले भतेरीको अवलोकन गरेको थियो । “तत्कालका लागि भतेरीमै व्यवस्थापन गरेर फोहर बिसर्जन गर्ने व्यवस्था मिलाइएको छ, केही दिनभित्रै फोहर उठ्छ,” ढुङ्गानाले भन्नुभयो । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकामा डम्पिङ साइट नहुँदा विगत वर्षौदेखि भतेरीमा फोहर फाल्दै आइरहेको छ ।

डम्पिङ साइट निर्माणका लागि नगरपालिकाले विगतमा व्यास नगरपालिका–५ स्थित एक सामुदायिक वनमा जग्गा अध्ययन गरेको थियो । तर स्थानीयवासीको विरोधपछि नगरपालिका उक्त ठाउँबाट पछि हटेको छ । नगरपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि हाल सम्भाव्य देखिएको व्यास नगरपालिका–४ र १० को बीचमा पर्ने सामुदायिक वन क्षेत्रको स्थानको प्रारम्भिक वातावरणीय अध्ययन (आइइ) गर्ने तयारी गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology