• Saturday 1st of August 2026

मकवानपुरमा भौतिक पूर्वाधारका एक दर्जन योजना


  • गोकर्णेश्वर अनलाइन

मकवानपुर जिल्लाका स्थानीय तहमा खानेपानीलगायत अन्य क्षेत्रको भौतिक पूर्वाधार निर्माणका एक दर्जन योजनामा रु १० करोड ४१ लगानी भएको छ । जिल्ला समन्वय समितिले जिल्लाका स्थानीय तहका योजना निर्माणमा उक्त रकम गत आर्थिक वर्ष २०७६÷७७ मा लगानी गरेको हो । कार्यालयका अनुसार गाउँपालिका र नगरपालिका तथा उपमहानगरपालिकाद्वारा निर्माण गरिने खानेपानी, स्वास्थ्यचौकी भवन तथा वडा कार्यालय भवन र सामुुदायिक भवनलगायत एक दर्जन योजना निर्माणमा लगानी सहयोग गरिएको बताइएको छ ।

जिससले कार्ययोजना बनाएर स्थानीय निकायलाई भवन निर्माण योजनामा ६० प्रतिशत र खानेपानी योजनामा ७५ प्रतिशत लगानी गरेको हो । अन्य लगानी सम्बन्धित निकायले आफैँ गरेको छ । प्राप्त विवरणअनुसार थाहा नगरपालिका– ७ मा बृहत् खानेपानी आयोजनाका लागि रु एक करोड ५० लाख, इन्द्रसरोवर गाउँपालिकाका वडा नं ३, ४ र ५ का वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माणका लागि रु एक करोड तथा मनहरि गाउँपालिकाको मोतीदेवी सभागृहको निर्माणका लागि रु १२ लाख प्रदान गरिएको छ ।

मकवानपुरगढी गाउँपालिकाको बृहत् खानेपानी आयोजनाका लागि रु एक करोड ३५ लाख, राक्सिराङ गाउँपालिकामा छात्रावास निर्माणका लागि रु एक करोड, बकैया गाउँपालिकाको जुरेली बृहत् खानेपानी आयोजनाका लागि रु एक करोड तथा मनहरि गाउँपालिकाका वडा कार्यालय भवन निर्माण गर्न रु एक करोड दिइएको बताइएको छ । हेटाँैडा उपमहानगरपालिका– ८ को सामुुदायिक भवन निर्माणमा रु ६९ लाख, वडा नं १३ को वडा कार्यालय भवन बनाउनका लागि रु १५ लाख, वडा नं १४ को खानेपानी योजनाका लागि रु दुुई करोड चार लाख र वडा नं १२ को वडा कार्यालय भवन निर्माणमा रु ५० लाख दिइएको जिससका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology