• Saturday 1st of August 2026

स्याङ्जामा निषेधाज्ञा एकहप्ता थपियो


  • गोकर्णेश्वर अनलाइन

स्याङ्जामा जारी केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेकाले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनको निर्णयले केही खुकुलो हुने गरी पुनः एकहप्ता निषेधाज्ञाको अवधि थप गरिएको प्रजिअ क्षेत्रीले बताउनुभयो ।

बैठकले एम्बुलेन्स र शव बाहन बाहेक अन्य अत्यावश्यक सवारी साधनहरु खाद्य सामग्री, औषधि, दानापानी, दूध, इन्धन बोक्ने सवारी साधन, कूतनीतिक नियोगका सवारी साधन, प्रेस पास भएका सवारी साधन बिहान ६ देखि राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । त्यस्तैगरी कर्मचारी परिचयपत्रका आधारमा कर्मचारीका सवारी साधन बिहान ९ देखि १० बजे र बेलुका ५ देखि ६ बजेसम्म सञ्चालन हुन पाउने प्रजिअ क्षेत्रीले बताउनुभयो । निषेधाज्ञाको अवधिभर सार्वजनिक यातायात र निजी सवारी साधान जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, तरकारी फलफूल, डेरी र माछा मासु पसलहरु बिहान ६ देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी खोल्न दिने निर्णय भएको प्रजिअ क्षेत्रीले बताउनुभयो । निर्माण सामग्रीका पसल तथा बैंकहरुलाई स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेर मात्रै सेवा प्रवाह गर्न निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । खाद्यान्न पसलहरु सञ्चालन गर्दा बिक्रेता तथा उपभोक्ताहरुले सेनिटाइजर, मास्क तथा अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिईएको प्रजिअ क्षेत्रीले बताउनुभयो ।

“विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यसम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्ड अपनाउन भनेका छौँ”, प्रजिअ क्षेत्रीले भन्नुभयो, “शर्तहरु नमान्ने तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना नगर्ने नगराउनेलाई सङ्क्रामक रोग ऐन २०२० बमोजिम कडा कारबाही हुने छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology