• Saturday 1st of August 2026

कहिले बन्छ सुर्खेतमा सवस्टेशन ?


  • गोकर्णेश्वर अनलाइन

सुर्खेतको सुव्वाकुनामा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण नहुँदा तीन जिल्लाको विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको छ । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनको लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा गरी प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सवस्टेशन निर्माण नहुँदा विद्युत् नियमित आपूर्तिमा समस्या देखिँदै आएको छ । सवस्टेशनका लागि चार वर्षअघि जग्गा अधिग्रहणको काम काम पूरा भएपनि स्टेशन निर्माणको लागि बोलपत्र आह्वान नहुँदा समस्या उत्पन्न भइरहेको छ ।

सवस्टेशनको डिजाइन गर्ने इटालियन कन्सलटेण्टले डिजाइनको काम पूरा गरिसकेको भएपनि बोलपत्र आह्वानको काममा ढिलाइ भएको छ । यो सवस्टेशन निर्माण कार्य पूरा भएपछि अर्को जहरेमा निर्माण हुन लागेको ४०० केभी प्रसारण लाइनको काम पूरा भएपछि मात्र चार जिल्लाको विद्युत् आपूर्तिमा हुँदै गरेको समस्या समाधान हुने नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरिले जानकारी दिनुभयो । अहिले सुर्खेतको सुव्वाकुना र जहरेमा ठूला सवस्टेशन निर्माण नभएकाले जाजरकोट, सुर्खेतको केही भाग, रुकुमपश्चिम र सल्यानको केही भागमा ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति हुँदै आएको छ । त्यस्तै जाजरकोट नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ । कोभिड कम हुने वित्तिकै डिपीआरका लागि दशँैसम्म कन्सलटेण्ट आउने बताइएको छ ।

प्रदेशलेनै जाजरकोटको चौखा सवस्टेशन निर्माणको लागि बोलपत्र आह्वानको काम सम्पन्न गरेको प्रमुख अग्रहरीले जानकारी दिनुभयो । नलगाड जलविद्युत आयोजना, ताँसुगाड जलविद्युत् आयोजना, डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि १३२ केभी प्रसारण लाइन निर्माण कार्य छिटो गर्नुपर्ने बाध्यता रहेको छ । जाजरकोटको कुदुको सवस्टेशन निर्माण कार्य पूरा भइसकेको छ । अन्य ठाउँहरु समाइला, वडावनमा निर्माण हुने सवस्टेशनको जग्गा प्राप्तिका लागि मुआब्जा वितरणको काम पूरा भएपछि अन्य काम शुरु हुने उहाँको भनाइ छ । दानी पिपलमा निर्माण गर्न लागिएको ४०० केभी प्रसारणलाई सवस्टेशन बनाउन डिपीआरको काम छिट्टै हुने कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिनुभयो । कोरोनाका कारण विज्ञहरु आउन नपाएको भन्दै सिंहले दशैँसम्म काम शुरु गर्ने तयारीमा रहेको बताउनुभयो ।

जाजरकोटका सात स्थानीय तहलगायत अन्य तीन जिल्लामा विद्युत्को प्रसारण लाइन गाउँगाउँमा पु¥याउन सामग्री अभाव हुँदा समस्या हुँदै आएको छ । शुरुमा नेपालगञ्जले कर्णाली प्रदेशका जिल्लामा सामग्री दिँदै आएकोमा अघिल्लो वर्षदेखि सुर्खेतमै प्रदेश कार्यालय स्थापना भएपछि नेपालगञ्जले सामग्री नदिँदा काममा ढिलाइ भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा सुर्खेतमा प्रदेश कार्यालय स्थापनासँगै सामग्री सबै थोक नहुँदा समस्या भएको हो ।   अहिले जाजरकोटको लागि प्रतिमहिना ६० किलोमिटरका लागि मात्र तार दिएको तर माग जाजरकोटमा धेरै भएकाले काम गर्न मुस्किल भएको विद्युत् प्राविधिकरण जाजरकोट प्रसारण लाइनका प्रमुख लोकबहादुर खड्काले जानकारी दिनुभयो ।

जाजरकोटको सात स्थानीय तहमध्ये बारेकोट गाउँपालिकामा मात्र विद्युत्को प्रसारण लाइन पुग्न सकेको छैन । अन्य स्थानीय तहमा लाइन निर्माण गर्ने काम भइरहेको तर कोभिड– १९ का कारण केही समस्या भएको प्रमुख खड्काले जानकारी दिनुभयो । प्रदेश कार्यालयले पोल जति माग भएपनि दिन सकिने तर तार भनेबमोजिमको दिन नसक्दा जताततै अभाव भएको बताएको छ । विद्युत् प्राविधिकरणलाईनै आपूर्ति गर्ने निकायले सामग्री नै कम दिएको बताइएको छ । दुई वर्षभित्र जाजरकोटलाई विद्युतीकरण गर्ने लक्ष्य लिएको प्रदेशसभा सदस्य सिंहले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology