• Saturday 1st of August 2026

बाढीपहिराको जोखिमले रातभर जाग्राम


  • गोकर्णेश्वर अनलाइन

बाढीपहिराको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कयौँ मानिस घरबारविहीन बनेका छन् । पहिराकै कारण बजार क्षेत्रको बस्ती नै जोखिममा परेपछि पाँच पोखरी थाङपाल–८ तिपेनीका स्थानीय सुरक्षित स्थान र सहाराको पर्खाइमा छन् । टेण्टभन्दा अरु केही नभएकाले सुरक्षित बास नहुँदा रातभर अनिदो बस्नु परेको तिपेनीका चन्द्रकुमारी श्रेष्ठको गुनासो छ । उहाँ जस्तै तिपेनीका १९ घर परिवार अहिले पालमुनी रात बिताउन बाध्य छन् ।

साउन १८ गते आएको पहिराले घर पुरिएका छन् भने पाँचपोखरी पर्यटन मार्गको मुख्य सडक अबरुद्ध छ । दुई सय मिटर भन्दा माथिबाट खसेको पहिराका कारण बिस्थापित बनेका अर्का स्थानीय बलराम धितालले सुरक्षित ठाउँमा स्थानान्तरणको माग गर्नुभयो । पहिराको कारण विस्थापित बनेका स्थानीयले प्रतिघर एक थान टेण्ट बाँडेर गाउँपालिका पन्छिएको बताएका छन् । वैकल्पिक बाटो खोलेपछि जोखिमयुक्त घरमा थप क्षति हुन नदिन पालिकाले कुनै पहल नगरेको स्थानीय भक्तबहादुर खत्रीले गुनासो गर्नुभयो । घरमाथिबट निरन्तर पहिरो खसिरहेपछि सुनकोसी–६ धुसेनिका स्थानीय ईबहादुर भन्डारी छिमेकीको घरमा आश्रय लिँदै आउनुभएको छ । तत्काल सुरक्षित स्थानमा बासस्थान व्यवस्था गर्न उहाँले आग्रह गर्नुभयो ।

“तीन बन्डल जस्तापाता पाउनसके सुरक्षित ठाउँमा टहरो बनाएर बस्ने थिए”, उहाँले भन्नुभयो । त्यस्तै पहिराले सुनकोशी गाउँपालिका–६ मा दर्जनौँ घरहरु जोखिममा परेपछि त्यहाँका स्थानीयले पनि जीउधनको रक्षा गरिदिन आग्रह गरेका छन् । गतसाल पनि पहिरो आएको र आफूहरु अन्यत्र जान नसक्ने अवस्थाका कारण पेलेरै बसेको भन्दै यसपटक भने गाउँमा बस्नै नसकिने अवस्था निम्तिएको स्थानीयले सुनाए । तत्कालका लागि आफूहरुलाई अस्थायी बासस्थान व्यवस्था गरिदिन उनीहरुले आग्रह गरेका हुन् । अविरल वर्षापछि आएको पहिराले मेलम्ची नगरपालिका– १० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुन्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालसहितका १५ घर पहिराको जोखिममा परेका हुन् ।

“अविरल वर्षा हुँदा घर बगाउँछ कि भनेर हामी रातभर जागा बस्न थालेका छौँ”, स्थानीय राजु दाहालले भन्नुभयो, “आँगन पहिराले लगिसक्यो घर कुन दिन लैजाने हो”, घरमा जोखिम मोलेर बस्न बाध्य भएको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकमा २४२ बस्ती बाढीपहिराको जोखिममा रहेको बताइएको छ । पुनःनिर्माण प्राधिकरणका प्राविधिकले गरेको अध्ययनअनुसार यो तथ्याङ्क आएको हो । तथ्याङ्कका आधारमा गाउँपालिका भोटेकोशीमा ४९ र बलेफीमा १४ तथा नगरपालिका बाह्रबीसे २३ र चौतारा साँगा चोकगढी नगरपालिकामा चार बस्ती जोखिममा छन् । त्यस्तै हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसङ्खुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङ्पालमा ३२, सुनकोशीमा एक र त्रिपुरामा चार बस्ती जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

प्राविधिकले तीमध्ये ७१ बस्ती रेड, ७५ बस्ती एल्लो र ७६ बस्ती ग्रिन जोनमा राखेको बताइएको छ । अतिजोखिममा रहेका जुगल र बाह्रबीसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिएको र अन्य पनि गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । उहाँका अनुसार जुगल गाउँपालिकाका लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने छ । त्यस्तै बाह्रबीसे गाउँपालिकामा ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी स्थानान्तरण गर्न लागिएको छ । पहिराको उच्च जोखिममा परेपछि बलेफी गाउँपालिकाले २५ घर परिवारलाई सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको छ । बलेफी गाउँपालिका १ स्थित खमारेका २५ घर परिवार पहिराको जोखिममा परेपछि उनीहरुलाई गाउँपालिकाले तत्काल सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology