• Saturday 1st of August 2026

महिला स्वतन्त्रताका लागि स्व सिंहको भूमिका महत्वपूर्ण : महामन्त्री कोइराला


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आइतबार साँझ आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालमा महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले महिलालाई अहिलेको अवस्थामा पुर्याउन स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । महामन्त्री डा कोइरालाले महिलालाई पुरुषसरहको अधिकार स्थापित गराउन स्व मङ्गलादेवी सिंह, स्व दिव्या कोइराला, शैलजा आचार्य, सुशीला कोइरालालगायत महिलाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवं फाउण्डेशन अध्यक्ष सुजाता कोइरालाले १६ वर्षको उमेरबाट महिला, हक अधिकारका लागि लड्ने साहसी महिला मङ्गलादेवी सिंह भएको बताउनुभयो । “संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उहाँले भन्नुभयो । महिलाले महिलालाई सहयोग गरेमात्र महिलाको आवाज बुलन्द हुने उहाँको भनाइ थियो । केन्द्रीय सदस्य कमला पन्तले १४ औँ महाधिवेशनमा उमेरका आधारमा भन्दापनि एजेण्डाका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । “नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सकेमात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।

केन्द्रीय सदस्य सरिता प्रसाईँले महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताउनुभयो । महिला अधिकार स्थापित गराउन नेपाल महिला सङ्घ लड्नुपर्ने उहाँको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले समानताको अधिकार खोज्ने कांग्रेसभित्र नेतृत्वको अधिकारमा पनि समानता हुनुपर्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र रोजगारमा समानता नखोजेसम्म महिलाले अधिकार नपाउने उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको उल्लेख गर्नुभयो । महिलाले आवाज उठाउन नसकेको खण्डमा महिला अधिकार स्थापित नहुने उहाँको भनाइ थियो ।

केन्द्रीय सदस्य किरण यादवले कोरोनाका कारण गर्भवती, सुत्केरी बढी प्रभावित भएको भन्दै उक्त वर्गलाई लक्षित गरेर सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो । तोकिएकै समयमा कांग्रेसको १४ औँ महाधिवेशन हुनुपर्ने उहाँको भनाइ थियो । नेपाल महिला सङ्घका अध्यक्ष एवं सांसद उमा रेग्मीले महिलालाई अधिकार सम्पन्न गराउने काम महिला सङ्घको भएको बताउँदै पार्टी र सरकारसँग महिलाको हक अधिकारका लागि लड्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य विजुला बर्मा, कास्की कांग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डे, फाउण्डेशन युरोपका संयोजक सीता सापकोटा, फाउण्डेशन साईप्रस संयोजक रिता दुलाल, कांग्रेस नेत्री सिर्जना सिंह, नेविसङ्घ पूर्व महामन्त्री प्रतिमा गौतमलगायतले महिलालाई नेतृत्वमा ल्याउन सबै महिला एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो । फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले मुलुकको समसाययिक विषयमा फाउण्डेशनले निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology