• Saturday 1st of August 2026

मायादेवी मन्दिरमा सामूहिक पूजापाठ


  • गोकर्णेश्वर अनलाइन

गौतम बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा आज सामूहिक पूजापाठ गरिएको छ । कोभिड– १९ को महामारीका कारण लामो समयदेखि बन्द मन्दिरमा आज पूर्णिमाको दिन पारेर सामाजिक दूरी कायम गरी भिक्षुहरुले पूजापाठ गर्नुभएकोे लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवीमा अब दैनिक बिहानसाँझ पूजापाठ हुने छ “सरकारले सर्वसाधारणका लागि धार्मिकस्थल खुला गर्ने निर्णय नगर्दासम्म मायादेवी मन्दिर सर्वसाधारणका लागि खुला गर्न सकिदैन तर सुरक्षा सर्तकता अपनाएर नियमित पूजापाठ शुरु गरिएको छ”, कोषका कामु सदस्य सचिव ज्ञानिन राईले जानकारी भन्नुभयो । मायादेवी मन्दिरमा कोरोना महामारीको अन्त्य, मृतकको चिरशान्तिको कामना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभ र विश्वशान्तिको कामना गर्दै भिक्षुले सामूहिक पूजापाठ गर्नुभएको हो ।

लुम्बिनीका विभिन्न विहार तथा गुम्बाका भिक्षु, श्रामणेर, लामा, गुरुआमा तथा स्थानीयवासीको सहभागितामा सामाजिक दूरी कायम गरी पूजापाठ गरिएको कोषका आध्यात्मिक सल्लाहकार एवम अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीले जानकारी दिनुभयो । विकास कोषको आयोजना तथा भिक्षु मैत्रीको निर्देशनमा सामूहिक पूजापाठको आयोजना गरिएको हो । सामूहिक पूजापाठमा थेरवादी विहारको संयोजन भिक्षु वजिर तथा लामा गुम्बाका तर्फबाट सिंगापुर गुम्बाका प्रमुख टाँसी लामाले संयोजन गर्नुभएको थियो । अबदेखि मायादेवीमा हुने दैनिक पूजापाठका लागि थेरवादी र महायानी गुम्बालाई जिम्मेवारी दिइएको छ । यसअघि कोभिड–१९ को प्रभावका कारण लामो समयसम्म बन्द मन्दिर खुला गर्न विभिन्न सङ्घसंस्थाले कोषको ध्यानाकर्षण गराएका थिए ।

मन्दिर यथाशीघ्र खुला गर्न माग गर्दै लुम्बिनीका करीब एक दर्जन उद्योग, पर्यटन तथा समाजिक क्षेत्रमा क्रियाशील संस्थाका अध्यक्ष तथा प्रतिनिधिले कोषका उपाध्यक्ष भिक्षु मेत्तेयमार्फत कोषका अध्यक्ष एवं संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई ज्ञापनपत्र बुझाएका थिए । पर्यटन व्यवसायी हेमबहादुर विष्टले मायादेवी विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यहाँ नियमित पूजापाठको कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कोभिड– १९ को महामारीका कारण मायादेवी मन्दिर हुँदा नियमित पूजापाठको काम रोकिएको थियो ।

भिक्षुभिक्षुणी तथा स्थानीय बौद्ध उपासकउपासिकाले मन्दिरमा पूजा गर्न पाएका थिएनन् । कोरोना भाइरसको महामारीका कारण लुम्बिनीमा रहेका चिनियाँ, जर्मनेली, कोरियाली, जापानी, थाइ, श्रीलङ्कालीलगायत विहार बन्द छन् । यसैबीच लुम्बिनीको म्यान्मा विहारको उपोसथ सीमागृहमा भिक्षुहरुले उपोसथ विनयकर्म सम्पन्न गर्नुभएको छ । हरेक पूर्णिमा र औंँशीमा उपोसथ विनयकर्म कर्म गरिन्छ । नौ थेरवादी भिक्षुको सहभागितामा उपोसथ विनयकर्म गरिएको भिक्षु वजिरले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology