• Saturday 1st of August 2026

भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा, कारण के होला त ?


  • गोकर्णेश्वर अनलाइन

बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उहाँको सम्मानस्वरूप नाम उल्लेख गर्ने उक्त रेलसेवाले जानकारी दिएको छ । दोस्रो विश्वयुद्धमा आफ्नो बहादुरी देखाउनुभएका पुन भिसी पाउँदा केवल २१ वर्षको हुनुहुन्थ्यो । उक्त रेलसेवाका सञ्चार शाखाका एक अधिकृत डान पान्सले यसअघि अन्य व्यक्तिहरूलाई सम्मान गरिसकेको र यो पटक तुलबहादुर पुनलाई सम्मान गर्ने बताउनुभयो ।

उहाँले पुनलाई सम्मान गर्न पाउँदा हर्षित भएको बताउनुभयो । गोर्खा वेलफेयर ट्रष्टका एडम वेन्थमले गोर्खा सैनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले बर्मामा मात्रै सात वटा भिसी प्राप्त भएको भन्दै भिसी पाउनेमा तुलबहादुर पुन पनि एक रहनुभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशले गोर्खाहरूको धेरै ऋण तिर्न बाँकी छ, यो सम्मानलाई सच्चा सम्मानका रूपमा लिएका छौँ ।”

गोर्खाहरूको मागलाई बेलायत सरकारसामु राखी त्यसलाई निरन्तररूपमा दवाब दिने ट्रष्टका संरक्षक जोअना लुम्लेले आफ्ना बुबासँग बर्मामा एकसाथ लडेका भिसी तुलबहादुर पुन र लछिमान गुरुङसगँको भेट कहिलै भुल्न नसक्ने र स्वतन्त्रताका लागि आफ्नो जागिरभन्दा माथि उठेर गरेको योगदानप्रति बेलायतीहरू ऋणी रहेको बताउनुभयो । जीवनको पछिल्लो समय पुनले भूपू गोर्खाहरूको परिवारलाई बेलायतमा बस्न दिनुपर्छ भन्ने अभियानको नेतृत्व गर्ने लुम्लेसँगै अग्रपङ्तिmमा रहेर काम गर्नुभएको थियो । पुनको जन्म २३ मार्च १९२३ मा म्याग्दी जिल्लामा भएको थियो भने मृत्यु २० अप्रिल २०११ मा पर्वतमा भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology