• Saturday 1st of August 2026

कालोपत्र भएको एक वर्ष नपुग्दै उप्कियो दिक्तेल–हलेसी सडक


  • गोकर्णेश्वर अनलाइन

मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरेको एक वर्ष नपुग्दै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा र ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको बताइएको छ । एसियाली विकास बैङ्क (एडीबी)को लगानीमा दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोकदेखि हलेसीसम्मको ३६ किलोमिटर सडकको विभिन्न ठाउँमा कालोपत्र उप्किएको हो । कालोपत्र उप्किएर ठाउँठाउँमा सडक खाल्डाखुल्डी भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सवारी चालकले बताएका छन् । सडक कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयवासीको आरोप छ । जिल्लाको प्रमुख मार्ग दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले लिएको छ ।

सङ्घीय राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला आवत÷जावत गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानीका लागि प्रयोग गरिने उक्त सडक कालोपत्र सम्पन्न भएको वर्ष दिन नपुग्दै उप्किएपछि जिल्लावासी आक्रोशित बनेका छन् । उप्किएको कालोपत्र मर्मत गर्न सम्बन्धित निकायले चासो नदिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता मिलन राईले बताउनुभयो । एसियाली विकास बैङ्कको रु ४६ करोड ८९ लाख ९२ हजार २२७ को लगानीमा साढे छ मिटर फराकिलो पारिएको सो सडकको साढे पाँच मिटर चौडाइमा कालोपत्र गरिएको थियो । तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको उक्त सडक खण्डको हलेसीदेखि विजुलेसम्मको १२ किलोमिटर १५ करोड ५२ लाख ५१ हजार ६९६ रुपैयाँ ७५ पैसामा, विजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर १५ करोड ८९ लाख ३४ हजार ५५२ रुपैयाँ ०७ पैसामा र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमिटर रु १५ करोड ४८ लाख पाँच हजार ९७८ रुपैयाँ ३० पैसामा सम्पन्न गरिएको थियो ।

जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सूर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्र गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले लिएको छ । तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी २०७१ साल जेठ १६ गते ठेकेदार कम्पनीसँग सम्झौता भएपनि दुई वर्ष ढिलो गरेर पाँच वर्षपछि गत असोजमा मात्रै कालोपत्र सम्पन्न भएको थियो । कालोपत्रको सम्पूर्ण काम वर्ष दिनअघि नै सम्पन्न भएपनि सडक विभागलाई जिम्मा दिन बाँकी रहेकाले बिग्रिएको ठाउँमा पुनः मर्मत गरेर मात्रै जिम्मा दिइने लामा–नागार्जुन–त्रिशूली जेभीका प्रतिनिधि राजाराम आचार्यले बताउनुभयो । “प्राविधिक त्रुटि भएको ठाउँमा कम्पनीकै तर्फबाट मर्मत गरिनेछ”, उहाँले भन्नुभयो, “दोस्रो पक्षबाट बिगारिएको छ भने, सम्बन्धित व्यक्ति वा संस्थाले जिम्मा लिनुपर्छ ।”

कालोपत्र गरिएको सडक वर्ष दिन नपुग्दै उप्किन थालेपछि सम्बन्धित ठेकेदार कम्पनीलाई तत्काल मर्मत गर्न आग्रह गरिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक जिल्लाको प्रमुख सडक हो”, उहाँले भन्नुभयो, “मुख्य सडक नै उप्किएर खाल्डाखुल्डी भएपछि तत्काल मर्मत गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई भनिएको छ ।” यसैगरी दिक्तेल–अस्पतालचोक–मात्तिम–टेम्मा सडकको ढलान कार्य नसकिँदै भत्किएको पाइएको छ । पूर्वाधार विकास कार्यालय उदयपुरको रु ४४ लाख छ हजार ३६८ लगानीमा ढलान गरिएको उक्त सडक सम्पन्न नहुँदै उप्किएको हो ।

ठेकेदार कम्पनी अर्थ विल्डर्स कन्ट्रक्सन प्रा.लि.ले जिम्मा लिएको उक्त सडक ढलान सम्पन्न नहुँदै ठूला सवारी आवतजावत गराउँदा उप्किएको प्रत्यक्षदर्शीले बताएका छन् । उप्किएको ढलान पुनः मर्मत गरेर सञ्चालनमा ल्याइने ठेकेदार कम्पनीले जनाएको छ । दिक्तेल बजारस्थित किराँतचोकदेखि पुरानो वेशक्याम्पसम्मको सडकसमेत ढलान भइरहेकाले सो सडकखण्डमा यातायात अवरुद्ध हुँदा दिक्तेल–अस्पतालचोक–मात्तिम–टेम्मा सडकमा ठूला सवारी साधनको चाप बढेको थियो । उक्त सडक ढलान सम्पन्न नहुँदै उप्किएपछि ठेकेदार कम्पनीको सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology