• Sunday 2nd of August 2026

लोपोन्मुख ३० राजीले घर पाउने


  • गोकर्णेश्वर अनलाइन

कैलालीको भजनीमा लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरिने भएको छ । मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्र्तगत भजनीमा रहेका ३० परिवारले घर पाउने भएका हुन् । सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७÷७८को स्वीकृत वार्षिक मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्तर्गत भजनी नगरपालिका–९ भुरुवा कैलालीको राजी बस्तीमा नमूना घर निर्माण गरिने नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिनुभयो । “नगरपालिकाले अतिविपन्न परिवार छनोट कार्य शुरु गरेको छ ।

अति आवश्यक रहेकाको घर निर्माण हुने भएको छ”, उहाँले भन्नुभयो । घर निर्माण हुने भएपछि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीको नेतृत्वमा आएको टोलीले बस्तीको अनुगमनसमेत गरेकोे छ । अनुगमनपश्चात मन्त्री चौधरीले अतिविपन्न, पछाडि परेको समुदाय, प्राकृतिक प्रकोपबाट घर पूर्ण क्षति भएका परिवारको घर मुख्य प्राथमिकतामा राखेर निर्माण गरिने बताउनुभयो । “बढी समस्या रहेका परिवारलाई प्राथमिकता दिन थालेका छौँ”, मन्त्री चौधरीले भन्नुभयो, “सबैले बस्ने घर पाउनुपर्छ भन्ने हो ।

राजीका लागि पक्की घर बनाइदिन थालेका हौँ ।” विपन्न राजीका घर निर्माण गर्न मुख्यमन्त्री एकीकृत नमूना बस्ती निर्माण कार्यक्रमको अवधारणा प्रदेश सरकारले ल्याएको मन्त्री चौधरीले बताउनुभयो । “नमूना बस्तीसँगै स्थानीयका मागका आधारमा उद्योग सञ्चालनमा ल्याउने सरकारको योजना छ”, कृषिमन्त्री चौधरीले भन्नुभयो, “स्थानीयस्तरमा रोजगारी सिर्जना गरी कामका लागि भारत तथा अन्य जिल्ला जानु नपरोस्, गाउँमै रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । हामी राजी बस्तीका नागरिकले माग गरे लगानी गर्न तयार छौँ ।”

भजनीमा राजी बस्तीमा दुईकोठे पक्की भवन र शौचालयसहितको घर निर्माण हुने भएको छ । घर निर्माण हुने भएपछि राजी समुदायमा खुशीयाली छाएको छ । राजी अगुवा डम्बर राजीले वर्षौँदेखि खरको छानामा बस्न बाध्य राजी परिवार पक्की घर पाउने खबरले हर्षित भएको बताउनुभयो । “यसअघि पनि जनता आवास कार्यक्रमअन्तर्गत केही परिवारका घर निर्माण भएका छन् । यो कार्यक्रमले घर नभएकालाई समेट्ने भएको छ”, राजीले भन्नुभयो, “सरकारको यो कार्यबाट यहाँका नागरिकले घरको छानो पाउनेछन् । यसका साथै रोजगारीको वातावरणसमेत बनाइदिए राजीको जीविकामा सहजता आउनेछ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology