• Sunday 2nd of August 2026

महङ्गो छ सडकमा छाडा छोडी दुर्घटनामा परेका गाईबाच्छाको उपचार भन्ने गुनासो


  • गोकर्णेश्वर अनलाइन

सडकमा छाडा छोडी दुर्घटनामा परेका गाईबाच्छाको उपचार महङ्गो हुँदै गएको संरक्षणमा जुटेका अभियानकर्मीको गुनासो छ । दुर्घटनामा जिम्मेवार सवारीबाट उठाइने रकम कहाँ जान्छ पत्तो छैन । उपचार महङ्गो भएपछि असहाय गाईबाच्छा संरक्षण अभियान दिनानुदिन अप्ठ्यारोमा पर्दै गएको छ । शहर बजारबाट घाइते गाईबाच्छा आउने क्रम जारी छ । बितेको एक महिनामा सडक दुर्घटनामा गम्भीर घाइते बनेका आधा दर्जन गाईबाच्छाको सेवा गर्ने अवसर मिलेको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो । तीमध्ये पाँचवटाले जीवन पाएका छन् ।

“दुर्घटनामा परेपछि गाडी समातिन्छ, कुनै अमुक संस्था वा व्यक्तिको इशारामा हामीले सञ्चालनमा ल्याएको आश्रयस्थलसम्म ल्याइन्छ, मानवीय नाताले त्यस्ता अबोध प्राणीलाई स्वीकार्नु हाम्रो बाध्यता बन्दछ, दुर्घटना गर्ने गाडीबाट रकम असुलिन्छ, त्यो कस्ले लिन्छ र प्रयोग गर्छ, हामीलाई पत्तोपनि हुँदैन, ठुलो रकम खर्चेर उपचारमा हामी कुनै सम्झौता गर्दैनौँ, हामी सेवामा समर्पित छौँ, सेवालाई नै परम धर्म ठानेका छौँ, बितेको एक महिनामा आधा दर्जन घाईते गाईबाच्छाको उपचारमा करिब रु दुई लाख खर्च भएको छ, सबै खर्च स्वयंसेवीबाट आर्जित भएको हो,” उहाँले भन्नुभयो । वनस्थलीमा एम्बुलेन्सको ठक्करबाट घाईते भएको भनिएको एउटा बाच्छाको उपाचार प्रारम्भ भएको छ, आश्रयस्थल आइपुगेको बाच्छालाई साधारण यन्त्रको सहायताले उभ्याएर उपचार गरिएको छ ।

सडकमा छाडिएका असहाय गाईबाच्छा अत्यन्तै जोखिममा परेका छन् । धेरै त्यस्ता प्राणी रातारात बेपत्ता हुने गरेपनि यसतर्फ सरोकार भएका निकायको ध्यान गएको छैन । यसतर्फ सरकार बेखबर जस्तै भएर बसेको अभियानकर्मी पुडासैनीको आरोप छ । गाईबाच्छाको दुर्घटना गराउने गाडी प्रहरीले समातेपछि कुन शर्तमा र किन छोडिन्छ रु दुर्घटनाकर्तालाई उपचारका लागि जिम्मेवार बनाइएको सुनिए पनि उपचार खर्चका लागि आजसम्म एक रुपैयाँ पनि नआएको उहाँको भनाइ छ । दुई वर्षदेखि शुरु भएको छाडा गाईबाच्छा संरक्षण अभियान कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला बिस्तार गरिएको छ ।

बन्दाबन्दीमा छाडा गाईबाच्छाको अवस्था गम्भीर हुन थालेपछि पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको करिब ५०० रोपनी जग्गामध्ये १०० रोपनी गौशाला निर्माणका लागि दिएको छ । अभियानले कोषले दिएको जग्गा र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उत्तरीभेगस्थित वाग्मती किनारमा गरी दुई स्थानमा छाडा गाईबाच्छा राखी संरक्षण गर्दै आएको छ । दुवैतिर गरी हाल ३०० गाईबाच्छा संरक्षण गरिएको अभियानले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology