• Sunday 2nd of August 2026

चार्जिङ सेन्टर राख्न आग्रह


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेश सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको छ । प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय स्थानमा चार्जिङ सेन्टर निर्माणका लागि प्रक्रिया शुरु गरिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।

यातायात सेवालाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउन निजी साझेदारी माध्यमबाट विद्युतीय यातायात प्रणाली सञ्चालन गरी आगामी २०८५ साल भित्रमा प्रदेशका ठूला शहरबाट पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापन गर्ने गरी काम शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले चार्जिङ सेन्टर राख्न इच्छुक स्थानीय तहलाई १५ दिनभित्र मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गर्दै सूचना जारी गरेको जानकारी दिनुभयो ।

मूल सडकसँग जोडिएको कम्तीमा तीन रोपनी जग्गा उपलब्ध भए अध्ययन गरेर उपयुक्तता र आवश्यकताका आधारमा सेन्टर निर्माण गरिने उहाँको भनाइ छ । मन्त्री फुयाँलले सरकारले प्रस्तुत गरेको पहिलो नीति तथा कार्यक्रममा नै आगामी ८५ सालसम्ममा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिँदै पेट्रोलियम सवारी विस्थापित गर्ने लक्ष्य प्रस्तुत गरिएकाले सरकारले उक्त लक्ष्यलाई पूरा गर्ने गरी काम अगाडि बढाएको बताउनुभयो । उहाँले सरकारले चाँडै नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने जानकारी दिनुभयो ।

पहिलो चरणमा सरकारले धुलिखेलबाट बनेपा, काठमाडौँ, धादिङ, चितवन, हेटौँडा, सिन्धुली हुँदै धुलिखेलका रुटमा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको बताइएको छ । प्रदेशलाई हरित प्रदेश र वातवरणमैत्री प्रदेशका रुपमा निर्माण गरिने योजनाअनुसार काम गरिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology