• Sunday 2nd of August 2026

निषेधाज्ञाको समय एक हप्ता लम्बियो


  • गोकर्णेश्वर अनलाइन

जिल्लामा पछिल्लो समय कोरोना कोभिड–१९को सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ । यही भदौ १४ गते राति १२ बजेदेखि २१ गते भदौ १२ बजेसम्म लागू भएको निषेधाज्ञा गएराति १२ बजे सकिएपछि निषेधाज्ञाका समय पुनः एक हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि १० बजे सम्म खाद्यान्न तथा तरकारी पसल खोल्न तथा अन्य सबै प्रकारका पसल पूर्णरुपमा बन्द गर्ने निर्णय भएअनुसार निषेधाज्ञाको समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा आज जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बसेको बैैठकले निषेधाज्ञाको समयमा मानिसको आवतजावत रोकिने तथा रोगको सङ्क्रमण पनि अरु व्यक्तिमा नसर्ने भएकाले एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेअनुसार सात दिनका लागि निषेधाज्ञाको समय पुनःथप गरिएको हो । निषेधाज्ञाको समय थप भएपछि यहाँका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला, सिलगढी, राजपुर बजार सुनसान छन भने बजारमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

निषेधाज्ञा लागू भएसँगै बिना काम बजार आजतजावत गर्नमा समेत कडाइ गरिएको जिल्ला प्रहरी कार्याल डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इद्रबहादुर मल्लले बताउनुभयोे । जिल्लामा यही भदौ १४ गते पहिलो पटक निषेधाज्ञा लागू भएसँगै अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै सवारीसाधन पूर्णरुपमा बन्द भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेर कम्तीमा पनि ९५५ जना पुगेको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि पुनः निषेधाज्ञा थप गरिएको र त्यसको सबैले पूर्ण पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो,“कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको समय थपिएको छ, सङ्क्रमणबाट जोगिन सबैले नियमको पालना गर्न जरुरी छ, अटेर गरे सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही हुने छ ।” निषेधाज्ञाका क्रममा अत्यावश्यक पर्ने सेवा बाहेकका अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ । जिल्लामा पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । निषेधाज्ञाका कारण जिल्लामा दैनिक ज्याला मजदूरी गरी खाने वर्गलाई भने निकै समस्या उत्पन्न भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology