• Sunday 2nd of August 2026

राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन असोज ३ गते गरिने


  • गोकर्णेश्वर अनलाइन

जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा तेस्रो ‘राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन’ असोज ३ गते आयोजना हुने भएको छ । कोभिड–१९ को महाव्याधिलाई मध्यनजर गर्दै सम्मेलन प्रविधिको माध्यमबाट आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । आयोजक समितिका संयोजक श्रीरामप्रसाद पोखरेलका अनुसार राजधानी काठमाडौँ, प्रदेश नं १ लगायत देशका सबै प्रदेशका साथसाथै विभिन्न देशमा सानो सानो समूहमा एकत्रित भई प्रविधिको माध्यमद्वारा सक्रिय सबै समूह जोडिने गरी सम्मेलन सञ्चालन गरिनेछ । वैदिक सनातन हिन्दू, बौद्ध, किराँत, बोन, जैन, शिखलगायतका धार्मिक समुदायको सहभागितामा ‘पराईकरणको दुश्चक्रलाई परास्त गरी मौलिक धर्म संस्कृतिको पुनर्धारणा गराउने साझा रणनीति’ विषयमा सम्मेलन केन्द्रित हुने जनाइएको छ ।

प्रतिष्ठानको आयोजनामा हुने सम्मेलनका सहआयोजक संस्थामा राष्ट्रिय हिन्दू एकता मञ्च, सहृदयता समाज नेपाल र युगनिर्माण महिला समाज नेपाल रहेका छन् । कार्यक्रमलाई सुव्यवस्थित गर्न युगद्रष्टा डा निर्मलमणि अधिकारीको संरक्षकत्वमा २५ सदस्यीय कार्यक्रम आयोजक समिति गठन गरिएको छ । सम्मेलनका सल्लाहकारका रुपमा डा गोविन्दशरण उपाध्याय, डा चन्द्रकुमार सेर्मा हिङ, खेन्पो फुन्चोक दोर्जे लामा, पण्डित लक्ष्मीकान्त जोशी, आचार्य राजन शर्मा (भीमसेन सापकोटा) रहनुभएको छ । समितिमा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पोखरेल संयोजक र इन्द्रप्रसाद ओली, बलराम प्रजापती र चाँदनी विक उपसंयोजक रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा शान्तम् श्री, रमेश बाँस्तोला, खिमबहादुर सुनार, खेम लोहनी (राजन), अनिल चौधरी, टङ्का उप्रेती (नम्रता), एनिका राई, टीका शेर्पा, उत्तम गुरूङ, रामध्यान राय, राजिव बछार, दुर्गा थापामगर, सोनाम छुइकी लामा, शिशिर साधक, आकाश निलम् ‘गोविन्द’ रहनुभएको छ ।

प्रतिष्ठानले २०७४ सालदेखि हरेक वर्ष निरन्तर आयोजना गर्दै आएको राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन गत वर्षको चैत महिनामा आयोजना गरिने तयारी भएको थियो । कोभिड महाव्याधिको कारण त्यसबेला कार्यक्रम स्थगित गरिए पनि हाल भने जुम प्रविधिका माध्यमबाट गर्न लागिएको संयोजक पोखरेलले बताउनुभयो । देशमा रहेका मौलिक धार्मिक, सांस्कृतिक समूहका बीच सामाजिक सहृदयता विकास गर्ने उद्देश्यले प्रतिष्ठानले सम्मेलनको शुरुआत गरेको हो । ती समूहका मौलिक पहिचान एवं सांस्कृतिक गतिविधिको संरक्षणमा पनि प्रतिष्ठानले काम गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology