• Sunday 2nd of August 2026

गहनामा रसायनको रुपमा प्रयोग हुने ५० किलो धातुसहित दुई पक्राउ


  • गोकर्णेश्वर अनलाइन

सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जनालार्ई धनुषा प्रहरीले पक्राउ गरेको छ । सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सूचनाका अधारमा महोत्तरीको मठिहानी नगरपालिका–७ का २० वर्षीय श्याम दास र सोही ठाउँ बस्ने २२ वर्षीय मो.नुरारी लहेरीलाई जनकपुरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षकको कमाण्डमा खटेको टोलीले जनकपुरधाम उपमहानगरपालिका–५ सोनरपट्टीमा जाँच गर्ने क्रममा दुईवटा साइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको हो ।

खानतलासी गर्दा सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने रु १० लाख ६२ हजार बराबरको चाँदी जस्तो देखिने सेतो रङको धातु अन्दाजी ५० किलोसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । सामानसहित पक्राउ गरिएका दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रवक्ता मिश्रले बताउनुभयो । त्यसैगरी भारतबाट अवैधरूपमा तस्करी गरी ल्याइएका सामान पनि धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले धनुषाको विदेह नगरपालिका–९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा मारेर भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको हो । नदाफले तस्करी गरी ल्याएका सामान गाई गोठमा लुकाएर राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी नायब निरीक्षक बब्लु ठाकुरको कमाण्डमा गएको टोलीले ती सामान नियन्त्रणमा लिएको हो ।

नदाफको गाई गोठ खानतलासी गर्दा ५० केजीको दरले ११ बोरा ५५० केजी सुकेको हरियो मटर, दुई पोका तयारी कपडा र एक पोका चप्पल गरी करिब रु दुई लाख १३ हजार ४०० को सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मिश्रले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको सामानहरु आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology