• Sunday 2nd of August 2026

जग्गाधनी पुर्जा नहुँदाको सास्ती


  • गोकर्णेश्वर अनलाइन

वर्षाैंदेखि भोगचलन गर्दै आएको आफ्नो जग्गाको जग्गाधनी पुर्जा नहुँदा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को पहाडी क्षेत्रका बासिन्दाले आर्थिक गतिविधिबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् । पुर्जा नहुँदा उद्योग व्यवसाय दर्ता गर्न, धितो राखेर ऋण लिन,जग्गा किनबेच गर्नलगायत वित्तीय गतिविधि नै गर्न नपाएको उनीहरु बताउँछन् । कोभिड–१९ को महामारीका कारण वैदेशिक रोजगार वा अन्यत्र जानुभन्दा आफ्नै गाउँमा कृषि, पशुपालन तथा अन्य उद्योग व्यवसाय गरेर स्वरोजगार बन्ने चाहना भए पनि नपाएको बर्दघाट–२ सुखौराका देवान गुरुङ बताउनुहुन्छ । गाउँमै उद्यम गर्न चाहे पनि पुर्जा बिना सम्भव नभएपछि अधिकांश युवा अहिले विभिन्न शहरमा मजदूरी गर्न बाध्य रहेको उहाँको भनाइ छ ।

सुनवल नगरपालिका–११ तथा बर्दघाट नगरपालिका–२ मा पर्ने पहाडी बस्ती (साविक धुर्काेट गाविस–६, ७ र ८ )मा स्थानीयवासी विगत ४४ वर्षदेखि भोगचलन र बसोबास गर्दै आए पनि जग्गाको पुर्जा पाउन सकेका छैनन् । “जग्गाधनी पुर्जा नभएकै कारण उद्योग व्यवसाय गर्न खोज्दा पनि दर्ता गर्न सकेका छैनौँ, गाउँका युवा मिलेर कृषि फार्म सञ्चालन गर्न खोज्यौँ, त्यो पनि पुर्जा अभावकै कारण रोकियो”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकको पनि आकर्षण रहेको यस गाउँमा केही व्यवसायी रिर्साेट खोल्ने उद्देश्यले आउनुभयो, तर पुर्जा नभएकै कारण फिर्ता जानुभयो ।” तराईबाट छोटो दूरीमै पहाडको मनोरम दृश्य, चिसो हावापानी, रमणीय वातावरण भएकाले यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ ।

पछिल्लो पटक बन्दाबन्दी र निषेधाज्ञाका कारण घरमै बस्दा बहकिएको मन भुलाउन भन्दै यहाँ आउने र रमाउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढिरहेको स्थानीय बताउँछन् । लामो समयको प्रयासपछि यहाँको जग्गा नापनक्सा गर्न नापी कार्यालय परासीले गत वर्ष नापी टोली खटाए पनि डिभिजन वन कार्यालयले सहमति नदिएपछि नापी कार्य नै रोकिएको वडाध्यक्ष दया दर्लामीले बताउनुभयो । आफ्नो वडाको यो सबैभन्दा ठूलो समस्या रहेको उहाँको भनाइ छ । उहाँका अनुसार जग्गाको स्वामित्व नहुँदा यस क्षेत्रका ५०० बढी घरधुरी वित्तीय कारोवारबाट वञ्चित हुनुपरेको छ । विसं २०३३ देखि नै स्थानीय बासिन्दाको पटक–पटकको प्रयासमा जग्गा नापी कार्य अघि बढे पनि पूरा नहुँदा समस्या भएको हो ।

विसं २०५४ मा नापी विभागका कर्मचारीले जग्गा नापी गर्दै संसारकोट पुगेकोमा तत्कालीन द्वन्द्वका कारणले असुरक्षा रहेको जनाउँदै फिर्ता गएका थिए । त्यसपछि जग्गा नापीको पहल नै भएको थिएन । सुखौरा, आम्बास, धुरकोटफेदी, बाँसखोला, पटुके, संसारकोट, पोखरीछापलगायतका गाउँका बासिन्दा जग्गाको स्वामित्वबाट वञ्चित छन् । उक्त बस्ती हाल नगरपालिकामा गाभिए पनि विकट मानिन्छ । विसं २०७० सम्म साविक धुरकोट गाविस हुँदा स्थानीयवासीले उक्त जग्गाको तिरो तिर्दै आएका थिए । यो जग्गा सुकुम्वासीअन्तर्गत नभई अव्यवस्थित जग्गा रहेको वडाध्यक्ष दर्लामीले बताउनुभयो । बर्दघाट नगरपालिकाले समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology