• Sunday 2nd of August 2026

हात्तीले सखाप पारयो धानबालीे


  • गोकर्णेश्वर अनलाइन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीको झुण्डले गएराति धानबाली सखाप पारेको छ । हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसानको दुई विघा जग्गामा लगाएको धानबाली नष्ट गरेको हो । मध्यरातमा आठ वटा सङ्ख्यामा आएको हात्तीको झुण्डले स्थानीयवासी चेतराम डगौरा, गंगाराम डगौरा र सिताराम डगौराको धानबाली नोक्सान गरेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । “हात्तीको झुण्डले खुट्टाले कुल्चेर तथा खाएर धानबाली नष्ट गरेको छ”,उहाँले भन्नुभयो, “अन्य किसानको खेतमा पनि हात्तीको बथानले यताउता हिँडदै गर्दा खुट्टाले कुल्चेर धानबाली नष्ट गरेको छ ।” जीवन निर्वाहको मुख्य स्रोतका रुपमा रहेको धानबाली हात्तीको झुण्डले नष्ट गरिदिएपछि किसानको विजोग भएको उहाँले बताउनुभयो ।

विगत केही वर्षदेखि निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्तीको झुण्डले खेतबारीमा लगाएको धान र गहुँबाली नोक्सान गर्दै आएको छ । हात्ती नियन्त्रणका लागि नगरपालिकाले प्रभावकारी योजना ल्याउन नसक्दा किसानले हैरानी खेप्नु परिरहेको छ । धानबालीमा खैरो फड्के किराको प्रकोप खैरो फड्के किराले कञ्चनपुरका धानबालीमा क्षति पुर्याएको छ । भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका धानबालीमा खैरो फड्के किराले नोक्सानी पुर्याएको हो । भीमदत्त नगरपालिका–१८ र कृष्णपुर नगरपालिका–३ मा खैरो फड्के किराको प्रकोप बढी देखिएको छ । भीमदत्त–१८ गोवरैयाका किसान करुणाकर भट्टका अनुसार पहिले धानका पातहरु पहेंलो हुँदै गएको र बालाहरु आए पनि फोस्रा भएका छन् । साथै, धानका बोटहरुनै मर्ने समस्या रहेको छ ।

“दश कठ्ठाभन्दा बढी लगाइएको धानबालीमा फड्के किराको प्रकोप देखिएपछि कृषि प्राविधिकलाई देखाएर सल्लाह लिएका छौं”, उहाँले भन्नुभयो, “अन्य धानका विरुवालाई फड्के किराबाट जोगाउनका लागि विषादी छर्कने कार्यमा लागेका छौं ।” धानबाली अनुगमनका क्रममा दुईवटै स्थानीय तहका किसानको धानबालीमा फड्के किराको प्रकोप भएको पाइएको बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका प्राविधिक सहायक अम्बादत्त विष्टले बताउनुभयो । उहाँले फड्के किराको समस्या भएका किसानलाई एजदिरक्दीन, हेक्जाकोनाकोल र इमिडाक्लोप्रिड विषादीलाई धानको फेदमा पर्ने गरी छर्कनका लागि सुझाव दिइएको छ भन्नुभयो । धेरै किसानको खेतमा खैरो फड्के किराको प्रकोप देखिएकाले किसानले सजता अपनाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार फड्के किराको प्रकोप भएका धानका बिरुवा पुरै सुक्ने र पुरै जल्ने (होपर बर्न) हुने गरेका छन् । धानबालीको मुख्य शत्रु जीवका रुपमा रहेको फड्के किरा धानको पात र आधारमा रस चुसेर खाई धानबालीलाई नोक्सानी पुर्याउने गरेको छ । धानको फेदमा पानीको सतहभन्दा माथि बस्ने गरेका किराले धानबालीलाई पुरै सखाप पार्ने गरेको पाइएको छ । “खेतमा बढी पानी, गर्मी मौसम र अत्यधिक युरिया मलको प्रयोगले कीराको सङ्ख्यामा बृद्धि हुने गरेको छ”, प्राविधिक विष्टले भन्नुभयो, “रासायनिक मलको सन्तुलित मात्रामा प्रयोग गर्ने र नाइट्रोजन मलको बढी प्रयोग गर्नु हुँदैन ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology