• Sunday 2nd of August 2026

जिल्लामै थाइराइड परीक्षण हुन थालेपछि सोलुखुम्बुवासी हर्षित


  • गोकर्णेश्वर अनलाइन

हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक थाइराइड परीक्षण शुरु भएपछि यस क्षेत्रका नागरिक हर्षित भएका छन् । सदरमुकाम सल्लेरीमा सञ्चालित सोलु हेल्थकेयर प्रालिले कोरोना महामारीकै बीचमा सेवा शुरु गरेपछि सहज हुने भन्दै यहाँका नागरिक हर्षित भएका हुन् । अब थाइराइड परीक्षणका लागि काठमाडौँलगायत जिल्लाबाहिरका अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीय उमा शाक्यले खुशी व्यक्त गर्नुभयो । यसअघि थाइराइड परीक्षण गराउनकै लागि यहाँका नागरिक विराटनगर, धरान या काठमाडाँै जानुपर्ने बाध्यता थियो । लकडाउन तथा कोरोना महामारीका कारण पुनः जाँचका लागि अन्यत्र जान नपाएका बेला जिल्लामै सेवा शुरु हुनु सुखद् भएको तिङ्लाकी पूर्णमाया बस्नेतले बताउनुभयो ।

“केही महिनाअघि विराटनगर गएर जाँच गराउँदा थाइराइड देखिएको थियो अनि फेरि जाँच गरेर औषधि थपघट गर्नुपर्छ भनेका थिए”, उहाँले भन्नुभयो, “कोरोनाकै कारण जान सकिरहेका थिइन, अब यहीँ आयो ढुक्क भयो ।” काठमाडाँै जानका लागि एकतर्फी जिप भाडा रु एक हजार ५०० तिर्नुपर्छ भने इटहरी जानका लागि एकतर्फी मात्रै रु एक हजार १८०० सम्म लाग्छ । स्थानीय धनमाया मगरले भन्नुभयो, “जाने आउने र खाना खाने खर्चले जिल्लौ थाइराइड परीक्षण गराउन सकिन्छ भने समयको समेत बचत हुँदा हामी एकदमै खुशी छौँ ।” “खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्ने हर्मोनलाई थाइराइड हर्मोन भनिन्छ”, सोलु हेल्थकेयरका प्रबन्धक निर्देशक डा राजेन्द्र बस्नेतले भन्नुभयो, “हाम्रो घाँटीमा हुने यो ग्रन्थीको समस्या धेरै मानिसमा भए पनि परीक्षण नहुँदा अधिकांश रोग पालेर बस्न बाध्य छन् ।”

हेल्थकेयरका अनुसार अहिले जिल्लामै सेवा शुरु भएपछि दैनिक २० जनाभन्दा बढीले परीक्षण गराउने गरेका छन् । थाइराइड हुँदा कपाल धेरै झर्ने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी आउने वा कम आउने, निद्रा बढी लाग्ने वा कम लाग्ने, कब्जियत हुने वा झाडापखाला लाग्ने, महिलामा महिनावारी गडबडी हुने, मुटु जोडसँग ढुकढुक हुने, हात काँप्ने, गर्मी बढी हुने वा जाडो हुने, छाला खस्रो हुनेलगायतका लक्षण देखिने चिकित्सक बताउँछन् । हिमाली जिल्ला सोलुखुम्बुमा यस्ता बिरामीको सङ्ख्या अत्यधिक भएकै कारण परीक्षण शुरु गरिएको डा बस्नेतको भनाइ छ ।

“धेरै ‘केस’हरु ओखलढुङ्गाको मिसन अस्पतालमा ठीक हुन्छ तर थाइराइड परीक्षण गर्ने प्रविधि नहुँदा यस क्षेत्रका नागरिकलाई समस्या भइरहेको छ”, बस्नेतले भन्नुभयो, “म यही जिल्लावासी हुँ त्यसैले यहाँका नागरिकलाई स्वास्थ्य सेवामा सहज होस् भन्ने उद्देश्यले ऋण खोजेर नै सेवा सञ्चालन गरिएको हो ।” कोरियाली प्रविधिको उक्त मेसिनले विभिन्न ६० प्रकारका रोग पत्ता लगाउन सक्ने चिकित्सकको भनाइ छ । विगतका दिनमा थाइराइडको रिपोर्ट आउनका लागि २२ दिन पर्खनुपर्ने भए पनि अहिले १२ मिनेटमै रिपोर्ट आउने डा बस्नेतले बताउनुभयो ।

सरकारी अस्पतालले यो सेवा सञ्चालन गर्नसक्ने भए पनि सामान्य रोगको उपचारमा समेत निजी अस्पतालमा जानुपर्ने बाध्यता रहेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको भनाइ छ । उहाँले सरकारी अस्पताललाई चुनौती दिँदै हेल्थकेयरले थाइराइड परीक्षणसमेत शुरु गरेकोमा खुशी व्यक्त गर्नुभयो । आगामी दिनमा जिल्लावासीले सहज सेवा पाउने भन्दै नगर प्रमुख शेर्पाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । थाइराइड रोग सामान्यतया शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी हुँदा या वंशाणुगत पमा पनि लाग्ने भएको हुँदा समयमा नै उपचार गराउनुको विकल्प नभएको चिकित्सक बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology