• Sunday 2nd of August 2026

दरवाङ–बिम सडक दुई महिनापछि सञ्चालन


  • गोकर्णेश्वर अनलाइन

मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारदेखि गत असारको पहिरोबाट अति प्रभावित सोही पालिकाको वडा न. ७ बिम जोड्ने सडक दुई महिनापछि सञ्चालन भएको छ । असार २५ र २६ गतेको भीषण वर्षापछिको पहिरोका कारण दर्जनांै ठाउँमा पहिरो र बाढीले बगाएपछि दरवाङदेखि बिम र धवलागिरी गाउँपालिकाको मराङ जोड्ने सडक अवरुद्ध भएको थियो । जिल्ला समन्वय समितिले गाउँपालिकामार्फत उपलब्ध गराएको बजेटबाट दरवाङदेखि खारा, लुरवाङ हुँदै बिमको तल्लो गाउँसम्म सडक मर्मत सकेर मङ्गलबारदेखि सञ्चालन गरिएको बिमका वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिनुभयो । “पहिरो पन्छाउने, ग्याबिन पर्खाल लगाउने र कतिपय ठाउँमा नयाँ ट्र्याक खोलेर वडा कार्यालय भएको बिमको तल्लो गाउँसम्म मर्मत सकिएको छ,” उहाँले भन्नुभयो, “अन्य बस्ती जोड्ने सडक मर्मतलाई पनि निरन्तरता दिन्छौँ ।” पहिरो लगत्तै शुरु गरिएको सडक मर्मत गर्न करीब डेढ महिना लागेको हो ।

दुई महिनापछि सडक सञ्चालन भएको छ । कोरोनाको जोखिमका बीच एक्साभेटरका साथै स्थानीय मजदुरलाई स्वास्थ्य सतर्कता अपनाएर सडक मर्मतमा परिचालन गरिएको थियो । गाउँपालिकाका प्राबिधिक सडक मर्मत स्थलमा नियमित खटिएका छन् । सडक मर्मत योजनाबाट स्थानीयलाई रोजगारीको अवसर सिर्जना भएको छ । दैनिक उपभोग्य, निर्माण, राहत सामग्री ढुवानी गर्न तथा गाउँमा उत्पादन भएका कृषि उपज निकासी गर्न सहज हुने अपेक्षा गरिएको छ । दश वर्षअघि ट्र्याक खोलिएको नौ किलोमिटर दूरीको दरबाङ–बिम सडकलाई तत्कालीन जिबिसले नमूना आयोजनाको रुपमा उपभोक्ता समितिलाई पुरस्कृत गरेको थियो । मालिका गाउँपालिकाले यो सडक स्तरोन्नति योजनालाई निरन्तरता दिँदै आएको छ ।

वर्षात्मा समेत नियमित सवारी सञ्चालन हुने गरेको थियो । मालिका र धवलागिरी गाउँपालिकामा पहिरोले क्षति पु¥याएको सडक मर्मत गर्न पचास लाख रुपैयाँ बिनियोजन गरिएकोमा पहिलो चरणमा तीस÷तीस लाख उपलब्ध गराइएको जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो । दरवाङदेखि धारापानी ताकम हँुदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक यसअघिनै मर्मत गरिएको थियो । बिमको लुरवाङदेखि मराङ जोड्ने सडकको दुले सम्मको सडक मर्मत सकिएको मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । मराङसम्म दसैअघिनै सवारी सञ्चालन गर्ने लक्ष्यसहित सडक मर्मतलाई तिब्रता दिएको उहाँले बताउनुभयो । पहिरोका कारण मराङमा १९ जना मृत्यु, २ जना बेपत्ता, बिममा ८ जना मृत्यु र एक जना बेपत्ता भएका थिए ।

सडक, विद्युत्, खानेपानी, सामुदायिक भवन, निजी आवास, खेतीयोग्य जमिनमा पहिरोले क्षति पु¥याउँदा जनजीवन प्रभावित भएको छ । बिममा विद्युत मर्मत सकिएको छ । वैकल्पिक मुहानबाट खानेपानी आपूर्ति गरिएको छ । मराङमा सडकसँगै केन्द्रीय लाइनको विद्युत मर्मतलाई निरन्तरता दिइएको छ । मराङखोला लघुजलविद्युत परियोजनाबाट विद्युत् आपूर्ति गराइएको छ । आठ घर बिस्थापित रघुगङ्गा गाँउपालिका–४ दग्नाममा पहिरोका कारण आठ घर परिवार बिस्थापित भएका छन् । पहिरो सक्रीय भएपछि दग्नामको गैरीगाउँ, टाय र माझीगाउँका आठ घर परिवार बिस्थापित भएका हुन् । पहिरोका कारण जमिन धाँजा फाटेर चिराचिरा पर्ने, घरका पर्खाल चर्कने र भत्किन थालेका छन् । जोखिममा रहेका घरपरिवारलाई मङ्गलबार सुरक्षित ठाउँमा सारिएको जनता माविका प्रअ गुन पुनले जानकारी दिनुभयो । स्थानीयवासी, युवा क्लव, आमा समूहले घरभित्र रहेका सामान सार्न सहयोग गरेका थिए ।

बिस्थापित हुनेमा गैरीगाउँका एकबहादुर गर्बुजा, छबहादुर गर्बुजा, रमाया गर्बुजा र रेशम गर्बुजाका परिवार छन् । टोयका मबहादुर गर्बुजा, तुलबहादुर पुन, माझिगाउँका तुलबहादुर बिक र गङ्गा गर्बुजाको परिवार पनि बिस्थापित भएका छन् । भिरालो पाखोमा अवस्थित दग्नाम गाउँको मुनी र माथि दर्जनौं ठाउँमा जमिन चर्कीनुका साथै खेतबारीका गाह्रो भत्किएका छन् । केही दिनअघि दग्नामकै राम्कुलीबोटमा गएको पहिरोबाट दश घर जोखिममा परेका छन् ।

कृष्ण गर्बुजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्मर गर्बुजा, खड्ग गर्बुजा, खबिर तिलिजा, चन्द्र शेरपुञ्जा, केआइसिंह गर्बुजा र रनबहादुर गर्बुजाको घर उच्च जोखिममा परेका छन् । दग्नामदेखि दर्मीजातर्फ जाने सडक पहिरोले पुरेको छ । आठ वटा विद्युत्का पोलमा क्षति पुगेको छ । देउमान गर्बुजाको गोठमा ढुङ्गामाटो थुप्रिएको छ । यामकुमार गर्बुजा, कृष्ण गर्बुजा, पविन गर्बुजा, टिका गर्बुजा लगायतको खेतबारी पुरेको छ । प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी जोखिममा रहेकाको ब्यवस्थापन, पहिरोको थप जोखिमको अध्ययनसँगै नियन्त्रणको पहल गरिने गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बताउनुभयो ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology