तनहुँको बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । झोलुङ्गे पुल नभएका खोला तथा लामो समय हिँडेर वारपार गर्नुपर्ने ठाउँमा गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले झोलुङ्गे पुल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि दमौलीस्थित गैरसरकारी संस्था समन्वय समितिसँग सम्झौता गरिएको जानकारी दिनुभयो । “गाउँपालिकाका विभिन्न वडामा झोलुङ्गे पुल निर्माणका लागि डिपिआर तयार गर्न सम्झौता भएको छ, अध्ययनपछि कहाँ–कहाँ पुल निर्माण गर्न उपयुक्त हुन्छ, त्यही ठाउँमा काम तत्कालै अगाडि बढाउँछौँ”, थापाले भन्नुभयो ।
उहाँका अनुसार बन्दीपुर–१ र भानु नगरपालिका–४ जोड्ने चुँदीखोला, बन्दीपुर–१ कटुवाको घुम्तीदेखि सोही ठाउँ जोड्ने नाहालाखोला, बन्दीपुर–३ र सोही वडाको शेराटार जोड्ने खुदीखोला, बन्दीपुर–२ र वडा नं ६ जोड्ने साम्दीखोला तथा बन्दीपुर–२ र वडा नं ४ जोड्ने पाहरपानी खोलामाथि झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । उहाँका अनुसार ती झोलुङ्गे पुल निर्माणपछि यहाँका पाँच हजारभन्दा बढी सर्वसाधारण लाभान्वित हुनेछन् । उहाँका अनुसार पुल निर्माणमा गाउँपालिकाले १० प्रतिशत लगानी गर्नेछ भने बाँकी रकम सङ्घीय सरकारले व्यहोर्नेछ । सम्भाव्यता अध्ययनपछि मात्रै पुलको लागत थाहा हुने थापाको भनाइ छ ।
गैरसरकारी संस्था समन्वय समिति (एनजिओ नेटवर्क) का अध्यक्ष प्रतापसिंह गुरुङले सम्भाव्यता अध्ययनका लागि गाउँपालिकासँग सम्झौता भइसकेकाले तत्कालै काम शुरु गरिने जानकारी दिनुभयो । एनजिओ नेटवर्कले जिल्लाका अधिकांश ठाउँमा झोलुङ्गे पुल निर्माणको काम गर्दै आइरहेको छ । नेटवर्कले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न ठाउँमा नौ पुल निर्माण शुरु गरेको थियो । जुन हाल निर्माणाधीन अवस्थामा छ । बन्दाबन्दीका कारण ती झोलुङ्गे पुल निर्माण गर्न नसकिएको गुरुङले बताउनुभयो ।
स्वास्थ्य संस्थाको सेवा बन्द
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित खैरेनीटार स्वास्थ्यचौकीको सेवा बन्द गरिएको छ । स्वास्थ्य चौकीमा परीक्षणका लागि आउनुभएकी वडा नं १० की २३ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्यचौकीको सम्पूूर्ण सेवा बन्द गरिएको हो । प्रसूतिका लागि आएकी ती महिलामा रक्तचापको समस्या देखिएपछि पोखरा सिफारिस गरिएको थियो ।
पोखरामा स्वाब परीक्षण गर्दा महिलामा मङ्गलबार कोरोना पुष्टि भएको थियो । आज मात्रै उहाँका २८ वर्षीय श्रीमान्लाई पनि कोरोना पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी महिलाको सम्पर्कमा आएकाले सेवा आजदेखि नै बन्द गरिएको जानकारी दिनुभयो । “स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र कर्मचारी सबैको पिसीआर रिपोर्ट नआइन्जेल सम्पूर्ण सेवा बन्द गरिएको छ”, श्रीवास्तवले भन्नुभयो । उहाँका अनुसार स्वास्थ्यचौकीका १४ जनाको बिहीबार स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।
यो पनि हेर्नुहोस:
