• Sunday 2nd of August 2026

भानु नगरपालिकाको कार्यालय नयाँ शहर आयोजनाको भवनमा


  • गोकर्णेश्वर अनलाइन

तनहुँको भानु नगरपालिकाको कार्यालय भानु नगरपालिका–१ भन्सारस्थित नयाँ शहर आयोजनाको भवनमा रहने भएको छ । आयोजनाको कार्यालय भवन तथा संरचना भानु नगरपालिकाले पनि प्रयोग गर्ने गरी विभिन्न शर्तहरुको अधिनमा रही नगरपालिकाको कार्यालयलाई उपलब्ध गराउने निर्णय भएको छ । शहरी विकास मन्त्रालयको भदौ २१ गतेको निर्णयानुसार आयोजनाको भवन नगरपालिकाको प्रयोगका लागि दिने निर्णय भएको मन्त्रालयका शाखा अधिकृत ऋषिराम भट्टराईले जानकारी दिनुभयो । आयोजनाले सो भवन अधिकतम तीन वर्षका लागि नगरपालिकाले समेत प्रयोग गर्ने गरी उपलब्ध गराउनेछ ।

दुईतले भवनको भुइँतल्ला नगरपालिकाले प्रयोग गर्ने र पहिलो तल्ला नयाँ शहर आयोजनाले प्रयोग गर्ने तथा कार्यालय प्रयोग गर्दाको धारा, बिजुलीलगायत भवन सञ्चालनका अन्य खर्च नगरपालिकाले समेत ब्यहोर्नुपर्नेछ । नगरपालिकाको कार्य प्रवाहले आयोजनाको कार्य प्रभावित हुन नहुने र नगरपालिकालाई भवन उपलब्ध गराउँदा आयोजना कार्यालयका कर्मचारी आवास प्रयोजनाका लागि अन्यत्र बस्नुपर्ने परिस्थिति आउने भएकाले नगरपालिकाले आयोजनाको कर्मचारीको आवासको भाडा उपलब्ध गराउनुपर्ने शर्त राखिएको छ । भानु नगरपालिकाले केही समय अगाडी नगरपालिकाको कार्यालय भन्सारमा सार्ने निर्णय गरेको थियो तर केही असन्तुष्ट पक्षले भने नगरपालिकाको कार्यालय अन्यत्र सार्न नपाइने भन्दै आन्दोलन गरेका थिए । हाल भानु नगरपालिकाको कार्यालय वडा नं २ को फुस्रेटारमा सञ्चालित छ ।

निर्णय प्रक्रियासम्मत : नेकपा

नगरपालिकाको कार्यालय भन्सारस्थित नयाँ शहरी आयोजनामा सार्ने निर्णय प्रक्रियासम्मत भएकाले यसको विरुद्ध भएका क्रियाकलाप विधिको शासन विपरित रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले बताएको छ । नगरपालिकाको केन्द्र स्थानान्तरणको निर्णय भइसकेपछि यसको पक्ष विपक्षमा आइरहेका तर्क र क्रियाकलापबारे पार्टीले सुक्ष्म अध्ययन गरिरहेको र प्रक्रियासम्मत नै भएको निर्णयविरुद्ध भएका क्रियाकलापले विधिको शासन र लोकतन्त्रको मान्यतालाई उपेक्षा गरेको पार्टीको ठहर छ । पार्टीका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा भानु नगरपालिकाको मिति २०७६ माघ २३ गतेको बैठकले नगरपालिकाको केन्द्र भन्सारमा सार्ने निर्णय भई प्रदेश सरकारबाट सङ्घ सरकारलाई सिफारिस गरेको सर्वविदितै रहेको उल्लेख गरिएको छ ।

“प्रक्रियासम्मत भएको निर्णयविरुद्ध बल पु¥याउँदै नेपाली काँङ्ग्रेस तनहुँले जारी गरेको वक्तव्यले नगरपालिकाको निर्णय र स्थानीय सरकारको क्षेत्राधिकारलाई अवमूल्यन गरेको छ ।” भौगोलिक हिसाबले मस्र्याङ्दी र चुँदी दुवै उपत्यकाको यातायातको केन्द्र भन्सारमा भएकाले बहुसङ्ख्यक जनसमुदायको पायक गर्ने गरी भन्सारमा केन्द्र राख्ने कुरा व्यवहारिक भएको नेकपाको ठहर छ । “केन्द्र स्थानान्तरण गर्दा फुस्रेटारमा आवश्यक पर्ने सुविधाका लागि केही सेवा केन्द्र कायम गरी नगरपालिकाकालाई सबैको सहज पहुँचयुक्त बनाउनेतर्फ जनप्रतिनिधिहरुलाई संवेदनशील हुन आग्रह गर्दछौ,” विज्ञप्तीमा भनिएको छ ।

मुख्य कार्यालय फुस्रेटारमै राख्न काङ्ग्रेसको माग

नेपाली काङ्ग्रेस तनहुँले भने नगरपालिकाको मुख्य कार्यालय फुस्रेटारमा नै राख्न माग गरेको छ । सरकारले निर्णय गरी राजपत्रमा केन्द्र परिवर्तनको सूचना नआउँदासम्म केन्द्र स्थानान्तरण नगर्न काङ्ग्रेसले माग गरेको हो । स्थानीय तहको पुर्नसंरचना हुँदा राजपत्रमा प्रकाशित भानु नगरपालिकाको केन्द्र भानुनगरपालिका–२ फुर्सेटार रहेकामा सरकारको निर्णय बिना केन्द्र स्थानान्तरण गर्नु कानुनत परिपक्क हुन नसक्ने हँुदा नगरपालिकाको मुल प्रशासकीय केन्द्र फुस्रेटारमा नै यथावत राखी अन्य शाखागत सेवा शहरी विकास कार्यलयको भवनमा सञ्चालन गर्न अनुरोध गरिएको कार्यवाहक सभापति जितप्रकाश आलेले बताउनुभयो ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology