• Sunday 2nd of August 2026

बुङ्मतीमा भक्तजनको भीड


  • गोकर्णेश्वर अनलाइन

ललितपुर महानगरपालिका–२२ बुङ्मतीमा भक्तजनको भीड लागेको छ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मती ल्याइएको चार दिनमा ‘विचा पूजा’ गर्ने परम्पराअनुसार आज यहाँ भक्तजनको भीड लागेको हो । करुणामय बुङ्मती फर्केको चार दिनमा ‘कसरी बस्नु भएको छ’ भनेर भक्तजन हेरविचार गर्न आउने परम्पराका साथ पूजाआजा गर्ने चलन रहेको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाका तीनै शहरका साथै छिमेकी गाउँबाट धेरै भक्तजन कोही हिँडेर, कोहीे सवारीसाधन प्रयोग गरेर मच्छिन्द्रनाथको पूजा गर्न आइरहनुभएको छ ।” धार्मिक आस्था भएका मानिसलाई कोरोना महामारीले खासै धर्मकर्म गर्ने कामबाट पर राख्न नसकेको शाक्यले जानकारी गराउनुभयो ।

विगतका वर्षमा झँै उपत्यकाका विभिन्न ठाउँलगायत आसपास क्षेत्र खोकना, भैँसेपाटी, चापागाउँ, थेचो आदिका मानिसले बिनाबाजागाजा यसवर्ष दर्शन गर्न आउने क्रम रहेको मच्छिन्द्रनाथका पानेजु हेम बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ हाल वृष्टिदेवको मन्दिर निर्माणाधीन रहँदा सो मन्दिर पछाडि रहेको अस्थायी मन्दिरमा हामीले लोकेश्वरलाई राखेर दैनिक पूजाआजा पनि गरिरहेका छाँै ।” लोकेश्वरलाई बुङ्मती ल्याउनु अघि र भदौ ३० गते मङ्गलबार वडाले दुई पटक “बुङ्मतीमा यसपटक भक्तजनलाई विचा पूजा गर्न नआउन अनुरोध” गरे पनि आउने र पूजा गर्ने अनि जाने क्रम भइरहेको वडाध्यक्ष अम्विरराज शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो पहिला देखिनै चल्दै आएको परम्परा भएर होला हामीले सूचना प्रकाशित गरेर नआउन अनुरोध गरे पनि भक्तालुहरुले मान्नु भएको छैन ।” मच्छिन्द्रनाथको आस्था भएका सबै समुदायका मानिस बुङ्मती दर्शन गर्न आउने र जाने क्रम भइरहेको शाक्यले जानकारी गराउनुभयो । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले भदौ २२ गते निकाल्नुभएको साइतअनुसार भदौ २९ गते करुणामयलाई दिउँसो ३ बजे पुल्चोकबाट खटमा राखेर बुङ्मती लगिएको थियो । भोलिबाट मलमास अर्काे महिना दशैँ भएकाले मुलुकमा जात्रा चलेदेखि यो इतिहासमै पहिलो पटक कोभिडका कारण नरिवल खसाल्ने, एकलो महिलाले रथ तान्ने र भोटो देखाउने जात्राबिना मच्छिन्द्रनाथलाई बुङ्मती लान बाध्य भएको सुन्धारा निवासी सूर्यमान डङ्गोलले दुखेसो गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो वर्ष यी विभिन्न काम गर्न नपाए पनि ‘जीवन रहे अर्काे वर्ष गराँैला’ भन्ने आशका साथ करुणामयलाई खुशी खुशी बुङ्मती पठायौँ ।” मच्छिन्द्रनाथ रथ बनाउँदा वेतको काम गर्ने १२ जना अवालले भदौ ३० गते नटोलमा रहेका जलविनायक गणेशलाई ‘जात्राभर हामीले पालना गरेका केही कर्म भोलिदेखि अगाडि बढाउनेछौँ’ भनेर पूजा गरिसकेको डङ्गोलले जानकारी गराउनुभयो । यसवर्ष मच्छिन्द्रनाथलाई विगतका वर्षझैँ रथयात्रा गरेर गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल लगेर भोटोजात्रा देखाउन सम्भव नभएकाले भदौ १८ गते बुङ्मतीको हेयग्रीव भैरव र वृष्टिदेवलाई पानेजुहरुले क्षमापूजा गरेका थिए । आर्यावलोकितेश्वरलाई गत वर्ष चैत २७ गते चैतकृष्ण प्रतिपदाका दिन महास्नान, गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान र भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथयात्रा गरिएको थियो ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology