• Sunday 2nd of August 2026

नेपालको संविधान राष्ट्र निर्माणको आधारस्तम्भः मुख्यमन्त्री राई


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र भूगोलका जनतालाई एकताको सूत्रमा आबद्ध गर्ने माध्यममात्र नभएर राष्ट्र निर्माणको आधारस्तम्भ भएको बताउनुभएको छ । संविधान दिवस–२०७७ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जनताको जनभावना र अपेक्षा सम्बोधन गर्ने दस्तावेज हो भन्नुभयो । उहाँले सन्देशमा भन्नुभएको छ, “नेपालको संविधानले धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नाका साथै सबै वर्ग क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको छ ।”

मुख्यमन्त्री राईले यो संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौम बनाएको उल्लेख गर्दै आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा र यसप्रति सबै नेपाली सङ्कल्पित हुने मैले विश्वास लिएको छु भन्नुभयो । “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रदेश सरकार क्रियाशील छ । यही अभियानलाई सफल बनाउन ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने प्रादेशिक मूल नाराका साथ प्रदेश सरकार अगाडि बढिरहेको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यस सन्दर्भमा चुनौती धेरै छन् तर हाम्रो दृढ अठोटले लक्ष्य हासिल हुनेमा कुनै शङ्का छैन । यसका लागि समाजका सबै वर्ग, समूह, पेशा, क्षेत्रको सहकार्य आवश्यक छ ।”

मुख्यमन्त्री राईले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । “राजनीतिक सङ्क्रमणकाल समाप्त भएको वर्तमान परिप्रेक्ष्यमा स्वच्छ, सुखी र समुन्नत प्रदेशको मूल दृष्टिकोणसहित हामीले पहिलो आवधिक योजनाको थालनी गरेका छौँ । कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकास हाम्रो प्राथमिकतामा छन्” उहाँले सन्देशमा भन्नुभएको छ, “समावेशी सहभागिता र न्यायपूर्ण समाज निर्माणलाई हामीले महत्व दिएका छौँ । सबै समुदायको धर्म, संस्कृति, भाषा, लिपि कलाको संरक्षण गर्दै राष्ट्र निर्माणलाई मजबुत बनाउने हाम्रो अभिप्राय छ ।”

प्रदेश सरकार आफ्नो मध्यावधि कार्य अवधिको समीक्षा गर्दै बाँकी कार्य अवधिमा गरिने कार्यहरुको योजनासहित केही दिनमा प्रस्तुत हुन गइरहेको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री राईले सन्देशमा भन्नुभएको छ, “राष्ट्रिय एकता, अखण्डता र राष्ट्रको सम्मान सम्झौताहीन विषय हुन् । राष्ट्रिय एकताको प्रतीकका रुपमा रहेको नेपालको गौरवशाली राष्ट्रिय झण्डाको गत वर्ष हामीले व्यापक प्रयोग गरेका थियौँ । ठूला आकारका राष्ट्रिय झण्डा हाम्रो प्रदेशका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने गरी स्थायी प्रबन्ध गरिएको थियो । तर यो वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड– १९ का कारण सार्वजनिक ठाउँमा भव्य र उत्सवका रुपमा मनाउने अवस्था रहेन् । म यहाँहरु सबैलाई कोरोना भाइरसबाट आफू पनि बच्न र अरूलाई पनि बचाउन हार्दिक अपिल गर्दछु ।

” ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ केन्द्रित हुन प्रदेशका सबै राजनीतिक दल र प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा आह्वान गर्दै मुख्यमन्त्री राईले संविधान दिवसको यस अवसरमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology