• Sunday 2nd of August 2026

१८ महिनामा सक्ने पुल चार वर्षमा सकियो


  • गोकर्णेश्वर अनलाइन

बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् । पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको पुल तरेर हरिचौर पुग्नुपर्ने बाध्यता थियो । विसं २०७३ असारमा रु तीन करोड सात लाख लागतमा १८ महिनामा सक्ने गरी नयाँबाटो, जुम्ली, आचार्य जेभीसँग सम्झौता भएको थियो । पुल समयमै निर्माण नहुँदा पुलको फाउन्डेशनका कारण हटियाका केही घरसमेत गौदीखोलाको उच्च जोखिममा रहेको थियो ।

ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माण सम्पन्न नभएको भन्दै गलकोटका स्थानीयवासीले चर्को आलोचना गर्दै आइरहेका थिए । ठेकेदार कम्पनीले भने पुल निर्माणमा पटकपटक अवरोध हुँदा निर्माण सम्पन्न ढिलाइ भएको जनाएको छ । पुल ढलान गर्नका लागि सेटिङ गर्ने क्रममा गौदीखोलामा २०७३ असारमा आएको बाढीले निर्माण सामग्री बगाएको थियो । फाउन्डेशनको पानी फाल्ने क्रममा एक मजदुरको करेन्ट लागेर मृत्यु भएपछि पुल निर्माणमा ढिलाइ भएको नयाँबाटो, जुम्ली, आचार्य जेभीका आधिकारिक प्रतिनिधि कुमार खड्काले जानकारी दिनुभयो । “पुल निर्माण सम्पन्न भएको छ, हस्तान्तरण गर्न बाँकी नै छ”, खड्काले भन्नुभयो, “तीनपटक निर्माण गर्ने समयमा पुलका निर्माण सामग्री बगायो, एक श्रमिककै मृत्यु भयो, त्यसै कारणले ढिला भएको हो ।”

पुल निर्माणसँगै गलकोट नगरपालिकाको केन्द्र मजुवाफाँट, हरिचौर र तारखोलालगायतका स्थानमा सिधा यातायात सेवा सञ्चालन हुने गलकोट नगरपालिका–३ हटियाका वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो । ढिलै भए पनि पुल निर्माण सम्पन्न भएको छ तर पुलको दाँयाबाँयाको खोलामा तटबन्ध लगाउन आवश्यक रहेको भण्डारीको भनाइ छ । बस्ती नजिकै खोला भएका कारण पुल र बस्तीको सुरक्षाका लागि तटबन्ध गर्नुपर्ने उहाँको भनाइ छ । पुल निर्माणकर्ता डिभिजन सडक कार्यालयले पुल हस्तान्तरण गर्न बाँकी रहेको बताएको छ ।

पुलको आसपासमा ग्याविनको काम बाँकी रहेको र त्यो काम सम्पन्न हुनासाथ पुल जिम्मामा आउने डिभिजन सडक कार्यालयका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो । “पुल बनेर सवारी गुड्ने भइसकेको छ, तर पुलको सुरक्षाका लागि खोलामा ग्याविन लगाउन बाँकी छ”, लम्सालले भन्नुभयो, “तीनपटक म्याद थपेर मात्रै पुल निर्माण भएको छ ।” पुल आरसिसी मात्रै नभएर प्रि–स्टेटेस प्रविधिको भएको कार्यालयको भनाइ छ । पुलको बिममा रडको प्रयोग नगरी केबलको प्रयोग गरिएको कार्यालय प्रमुख लम्सालले बताउनुभयो ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology