• Sunday 2nd of August 2026

याङ्री र लार्केको पानी ल्याउन टिबीएम प्रविधिबाट सुरुङ बनाइने


  • गोकर्णेश्वर अनलाइन

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी शुरु भएको छ । पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डिबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो । डिबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो । यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको, बीचबीचमा निर्माण व्यवसायी भागेर नयाँ ठेक्का लगाउनुपर्दा समय लम्बिन गएकाले नयाँ प्रविधिबाट काम गर्ने तयारीमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति लागेको हो । दोस्रो चरणको याङ्री र लार्केको पानी राजधानी ल्याउन पनि डिबीएम प्रविधिबाट नै काम गर्ने गरी लागत अनुमान गरिएको थियो । यो प्रविधिबाट करिब ११ किमी सुरुङ बनाउँदा रु १० अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो ।

डिबीएम प्रविधिबाट काम ढिला हुने देखिएकाले नयाँ प्रविधि उपयोग गर्ने गरी आयोजना समीक्षामा लागेको हो । मेलम्ची खोलाको मुहानस्थल हेलम्बु गाउँपालिकाको अम्बाथानबाट याङ्री नौ किलोमिटर टाढा पर्छ । याङ्रीबाट लार्के दुई किमीको दूरीमा पर्छ । याङ्री र लार्के दुवै खोला सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पर्छ । करिब ११ किमीको यो दूरीमा ‘टनेल बोरिङ मेसिन’ (टिबीएम) प्रविधिबाट काम गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको आयोजनाको ‘हेडवक्र्स’ र सुरुङमार्ग हेर्नुहुने उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यो प्रविधिबाट सुरुङ बनाउँदा यन्त्रको प्रयोग गरिन्छ । “याङ्री र लार्केको मुहानस्थल जाने करिब २४ किमी प्रवेशमार्गको निर्माण पनि ढिला हुने भएकाले समेत टिबीएम प्रविधिबाट काम गर्न लागिएको हो, मेलम्ची पुलबजारबाट चार किमी प्रवेश मार्ग कसले निर्माण गर्ने अझै निश्चित छैन, त्यसमाथिको १० किमीमा सडक विभागले काम गरिरहेको छ, मुहानस्थलको १० किमीमा आयोजनाले नै काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

प्रवेशमार्ग सम्पन्न गरेर सुरुङ बनाउँदा वर्षौँ समय लाग्ने भएकाले ४.८ मिटर चौडाइको सुरुङ बनाउन लागिएको हो । तीन मिटर सडक र १.८ मिटर पानी बगाउन उपयोग गर्ने गरी सुरुङमार्ग बनाउने तयारी आयोजनाले गरेको छ । चिनियाँ निर्माण कम्पनीले भेरी बबई आयोजनामा पनि टिबीएम प्रविधिबाट सुरुङ निर्माण गरेको थियो । अमेरिकी प्र्रविधिमा चीनमा निर्माण भएको टिबीएम प्रविधिको सफल परीक्षण नेपालमा पहिलोपटक भेरी बबई आयोजनामा गरिएको छ । यसले परम्परागत सुरुङ निर्माणलाई विस्थापन गरेको छ । परम्परागत तरिकाले सुरुङ निर्माण गर्दा विष्फोट गरिन्छ । यो चिनियाँ कम्पनीले भेरी बबई आयोजनाको करिब १२ किमी सुरुङ निर्माण गरिरहेको छ । प्रदेश नं ५ र कर्णालीका नागरिक लाभान्वित हुने योजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गरी बाँके र बर्दियामा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।

छ महिना अघिदेखि सोही चिनियाँ कम्पनीले याङ्री र लार्केको पानी ल्याउन यो प्रविधिबाट काम गर्ने विषयमा अध्ययन गरेको थियो । डिबीएम प्रविधिबाट २६.५ किमी सुरुङ बनाउन करिब १० वर्ष लागेको छ । विसं २०६६ साउनमा सुरुङको अन्तिम विन्दु सुन्दरीजलबाट शुरु भएको काम करिब छ महिनाअघि मात्र सम्पन्न भएको हो । चिनियाँ र इटालेली दुई निर्माण कम्पनी सुरुङको काम बीचमै छोडेर भागेका कारण पनि ढिलाइ भएको हो । सुरुङ सम्पन्न भएर पानी परीक्षण गर्दा मुहानस्थलमै ढोका भत्किएर विवाद भएको थियो । प्रत्येक खोलाबाट दैनिक १७ करोड लिटरका दरले ५१ करोड लिटर पानी राजधानी ल्याउने लक्ष्य छ ।

मेलम्ची खोलाको पानी ल्याउन २६.५ किमी सुरुङ निर्माण सम्पन्न गरी हाल पानी परीक्षण भइरहेको छ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न गरी परीक्षणसमेत गरिएको छ । सुन्दरीजलबाट थोक वितरण प्रणाली र वितरण सञ्जाल निर्माणको काम काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ । पहिलो चरणको काम सम्पन्न भएको निर्देशनालयले जनाएको छ । काकाकुल राजधानीवासीका लागि मेलम्ची आयोजना व्यग्र प्रतीक्षाको विषय बनेको छ ।

यो पानो हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology