• Monday 3rd of August 2026

प्याजको मूल्य बढी लिने पाँच पसललाई कारवाही


  • गोकर्णेश्वर अनलाइन

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसल कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीहरुले आफूखुशी मूल्य बढाएर प्याज विक्री गर्न थालेपछि आज जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारवाही गरेको होे । प्याजको कालोबजारी गरेको अभियोगमा सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–२ का चारवटा र रामग्राम–७ का एक आलु प्याज गोदाम पसललाई गरी रु दुई लाख ६० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो । बजारमा पछिल्लो समय प्याजको मूल्यमा भारी वृद्धि गरी उपभोक्ता ठगी गरेको गुनासो आएपछि आज सहायक प्रजिअ माझीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हीत संरक्षण मञ्च, नेपाल पत्रकार महासङ्घ, रामग्राम नगरपालिकाका प्रतिनिधि तथा सुरक्षाकर्मीसहितको टोलीले बजार अनुगमन गरेको हो ।

सहायक प्रजिअ माझीका अनुसार केही दिन अघिसम्म प्याज प्रतिकेजी रु ५० बिक्री हुने गरेकामा रु १३० प्रति केजीसम्म पुगेको थियो । अहिले भने प्रतिकेजी १०० सम्म बिक्री हुने गरेको पाइएको छ । प्रतिकेजी रु ४० मा खरीद गरी रु १०० सम्म बिक्री गर्ने गरेको स्वयम् व्यवसायीहरुले नै स्वीकार गरेका थिए । अनुगमनको क्रममा भूमहीमा पिकअप भ्यानमार्फत बढी मूल्यमा प्याज बिक्री गरिरहेको अवस्थामा रामग्राम–७ स्थित रामग्राम स्टोर्स, रामग्राम–२ को रौनियार स्टोर्स, तारा आलु स्टोर्स र बिना दर्ता व्यवसाय सञ्चालन गरेका गणेश रौनियारलाई रु ६० हजारको दरले जरिवाना गरिएको छ भने अंश स्टोर्सलाई रु २० हजारका दरले जरिवाना गरिएको सहायक प्रजिअ माझिले जानकारी दिनुभयो ।

अधिकांश पसलमा मूल्यसूची, साइनबोर्ड, विभिन्न निकायमा दर्ता नवीकरण गरिएका प्रमाणपत्र, बिल विजकलगायतका कागजपत्र नभएको उहाँले बताउनुभयो । केही पसल बिना दर्ता पनि सञ्चालनमा रहेको पाइएको छ । उनीहरुलाई सुझावसहित जरिवाना गरिएको र सात दिनभित्र जरिवाना नबुझाएमा थप कारवाही हुने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो । व्यवसायीले दोब्बरभन्दा बढी मूल्य लिएर प्याज बिक्री गरिरहेको पाइएको बताउँदै उहाँले पुरानै मौज्दातको प्याज बिक्री गर्दा पनि मनोमानी मूल्य लिएको बताउनुभयो ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology