• Tuesday 28th of July 2026

नोबेल शान्ति पुरस्कार समारोह संक्षिप्त कार्यक्रमबीच डिसेम्बरमै गर्ने तयारी


  • गोकर्णेश्वर अनलाइन

कोपेनहेगन, ६ असोज (रासस–एपी) –– सन् २०२० को नोबेल शान्ति पुरस्कार वितरण समारोह यस वर्ष डिसेम्बर १० का दिन नर्वेको ओस्लो सभागृहमै गर्ने तयारी आयोजकहरुले गरेका छन्, तर कोरोनाभाइरस महामारीका कारण उक्त समारोहमा सीमित व्यक्तिहरुलाई मात्र आमन्त्रण गरिने भएको छ । नर्वेजियन नोबेल इन्स्टिच्यूटका निर्देशक ओलाभ नोल्स्टाडले धेरै कारणले यो वर्ष निकै अनौठो र चुनौतीपूर्ण रहेको जनाउँदै यस वर्षको पुरस्कार वितरणलाई पनि नयाँ ढंगबाट वितरण गर्नुको विकल्प नरहेको बताउनुभयो । नर्वेको यस इन्स्टिच्यूटले नोबेल शान्ति पुरस्कारको घोषणा र वितरणको प्रबन्ध मिलाउने गर्दछ । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा विज्ञान र साहित्य तथा अर्थशास्त्रतर्फका पुरस्कारको वितरण भने त्यही दिन अर्थात डिसेम्बर १० मै स्वीडेनको स्टकहोममा गरिनेछ । यी समारोहमा पनि सहभागी अतिथिहरुको संख्या ज्यादै न्यून हुनेछ ।

सन् १९०१ देखि नै यी पुरस्कारहरु अल्फ्रेड नोबेलको मृत्यु भएको दिनका दिन प्रदान गर्ने गरिएको छ । नोबेलको इच्छा बमोजिम नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोमा वितरण हुने गरेको छ । सन् १९४७ देखि १९९० सम्म नोबेल शान्ति पुरस्कार ओस्लो विश्वविद्यालयको प्रेक्षागृहमा आयोजना हुँदै आएको थियो । तर तीस वर्षअघिदेखि यो समारोह नगर प्रेक्षागृहमा आयोजना हुन थालेको छ जहाँ एक हजार अतिथिहरु सहभागी हुन सक्छन् । यस वर्ष यहाँ १०० जनामात्र सहभागी बोलाइँदैछ । यस वर्ष सन् २०२० को नोबेल शान्ति पुरस्कारको घोषणा आगामी अक्टोबर ९ मा गरिँदैछ । अन्य पुरस्कारहरु भने अक्टोबर ५ देखि १२ बीचमा हुनेछन् । शान्तितर्फ हालसम्म ३१८ जनाको नाम प्रस्ताव भएको छ जसमा २११ जना व्यक्ति र १०७ वटा संस्था रहेका छन् । नोबेल संस्थाले विगत ५० वर्षदेखि पुरस्कारका लागि प्रस्तावित व्यक्तिको नाम सार्वजनिक गरेको छैन । विभिन्न व्यक्ति एवं संस्थाले आफूखुशी नाम सार्वजनिक गर्ने प्रचलन बढ्दो छ । यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि स्वेडिस जलवायु कार्यकर्ता किशोरी ग्रेटा थन्बर्गको नाम चर्चामा छ ।

यो पनि हेर्नुहोस:

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology