• Monday 3rd of August 2026

कोरोना रोकथाम र उपचारका लागि चन्द्रागिरिको दुई करोड २७ लाख खर्च


  • गोकर्णेश्वर अनलाइन

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतका शीर्षकमा हालसम्म उक्त रकम खर्च गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख १६ हजार ९५९ खर्च भएको जानकारी दिनुभयो । नगरपालिकाले विभिन्न वडाका गरिब, विपन्न परिवारलाई राहत वितरणका लागि रु एक करोड ६४ लाख ३१ हजार, स्वाव परीक्षण, औषधि खरिद, स्प्रे, प्रचार–प्रसार, एम्बुलेन्स सञ्चालनका लागि रु ४० लाख ८१ हजार, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि रु २२ लाख तीन हजार खर्च गरेको छ ।

चन्द्रागिरिले नगरपालिकाभित्रका विभिन्न विद्यालयमा क्वारेन्टाइन कक्ष निर्माण गरेर कोरोना सङ्क्रमितलाई राख्दै आएको छ । चन्द्रागिरिलाई कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि वाग्मती प्रदेशले रु १२ लाख र नगरस्तरीय विपद् व्यवस्थापन कोषमा रु ११ लाख ७४ हजार सहयोग भएको थियो । बाँकी रकम नगरपालिकाले आफ्नै कोषबाट खर्च गरेको हो । नगरपालिकामा सोमबार छ कोरोना सङ्क्रमित थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३९० पुगेको छ । तीमध्ये २७६ जना डिस्चार्ज भइसकेका छन् । बाँकी सक्रिय सङ्क्रमितमध्ये २५ जना अस्पताल आइसोलेसन र ८५ जनाको होम आइसोलेसनमा राखेर उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो ।

हालसम्म चन्द्रागिरिमा कोरोना सङ्क्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । चन्द्रागिरिले कोरोना सङ्क्रमणबाट सिकिस्त भएका बिरामीलाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा राखेर उपचार गराउँदै आएको छ । चन्द्रागिरि वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । उपत्यकाका अरु नगरपालिकाको तुलनामा चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या कम रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology