नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई व्यवस्थित गरिएको छ । नेपालगञ्जको मध्यभागमा रहेको यो मन्दिर आउजाउ गर्ने दुई बाटोमध्ये पश्चिमतर्फको साँघुरो बाटोलाई व्यवस्थित र फराकिलो गरिएको छ भने बाटोको दुवै छेउमा राखिएका ठेला र घुम्ती पसललाई तोकिएको स्थानमा व्यवस्थित गरिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले बताउनुभयो । मन्दिर प्रवेश गर्ने पूर्वतर्पmको न्यूरोडको बाटो भने यसअघि नै फराकिलो बनाइएको थियो । बाटो र पसल व्यवस्थित गरिएपछि मन्दिर परिसरमा रहेका धार्मिकलगायत सामग्री विक्री गर्न खोलिएका पसलका कारण दर्शन गर्न आउने भक्तजनले अब कष्ट भोग्नु नपर्ने भएको छ । नेपालगञ्ज–१३ शान्तिनगरका सीता पौडेलले भन्नुभयो, “मन्दिरलाई बाटोघाटो र पसलले व्यवस्थित पारिएपछि देवीमाताको दर्शन गर्न अब पक्कै सहज हुन्छ ।”
यद्यपि कोरोना महामारीका कारण भने सर्वसाधारणका लागि मन्दिर अझै खोलिएको छैन । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले खर्च व्यवस्थापनका लागि ४९ वटा पसल सटर बनाइएको छ । पसलबाट मासिक आउने झण्डै रु तीन लाखको आम्दानीले मन्दिरको आन्तरिक खर्च धान्न सहज भएको बताइएको छ । सचिव अधिकारीका अनुसार, मन्दिर क्षेत्रको नियमित सरसफाइदेखि अन्य भौतिक पूर्वाधार निर्माणका लागि पनि समितिले योजना निर्माण गरेको छ । बागेश्वरी मन्दिरमा विशेषतः बाँकेलगायत बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजनहरु माता बागेश्वरीको दर्शन गर्न आउने गर्दछन् । माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास छ ।
यो मन्दिरमा दशैँको अष्टमी र नवमीका दिन पशु बलि दिने परम्परा पनि रहिआएको छ । सतिदेवीको जिब्रो पतन भएको स्थानमा बागेश्वरी मन्दिर स्थापना भएको मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताउनुभयो । “माता बागेश्वरीको श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेहरुको मनोकामना पूरा हुँदै आएको छ”, उहाँले भन्नुभयो । बागेश्वरी मन्दिरमा विशेष सङ्कल्प गर्ने भक्तजनले तोकिएको समयमा बागेश्वरी माताको खुल्ला दर्शन गर्न पाउने व्यवस्था पनि गरिएको मूल महन्त योगीले बताउनुभयो ।
