• Monday 3rd of August 2026

एसएलसी फेल, १६ जनालाई जागीर


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीका दीपक खुना २०६३ सालमा एसएलसी परीक्षामा अनुत्र्तीण भएपछि केही दिन तनावमा पर्नुभयो । “त्यो बेलाको एसएलसी फेल भए घरबाटै पढेर अर्को साल फेरि परीक्षा दिनुपर्ने व्यवस्था थियो”, हाल महेन्द्रनगरमा घर पेन्टरका रूपमा परिचित खुनाले रासससित भन्नुभयो, “पढाइ नसक्ने अवस्था आएपछि लागँे पेन्टर बन्न तिर ।” विसं २०६३ सालको असफलताले सीपमूलक काममा सक्रिय भएर लागेका खुनाल अहिले १६ जना युवालाई आयमूलक काममा रोजगारी दिइरहनुभएको छ । सालघारी घडेरीमा आफूले कमाएको पैसाले पाँचकोठे पक्की घर बनाएका खुनाले महेन्द्रनगरमा निजी तथा सरकारी भवन पेन्ट (रङरोगन) गर्ने कामको ठेक्का लिँदै आउनुभएको छ । उहाँले पेन्टिङको कामबाट मासिक रु ४० हजार कमाइ हुने गरेको बताउनुभयो ।

“शुरुमा काम सिक्न दिनभर मजदुरी गर्दा रु ८० देखि १०० सम्म पाउँथे”, उहाँले भन्नुभयो, “करिब पाँच वर्ष पेन्टर भएँ, त्यसपछि ठेकेदार ।” उहाँले आफू मातहत अहिले थारु समुदायका गरेर १६ पेन्टरले काम गरिरहेको बताउनुभयो । “विदेशमा पाँच दश वर्ष दुःख गर्नुभन्दा स्वदेशमै सीपमूलक काम सिकेर जीविकोपार्जन गर्न कठिन छैन”, उहाँले भन्नुभयो, “सरकारले पनि युवा पुस्तालाई अश्वासन दिए झै स्वरोजगार बनाउन लगानी गरेको देखिनँ ।” महेन्द्रनगरमा पछिल्ला केही वर्षयता सीपमूलक काम (घर बनाउनेदेखि पेन्टिङको कामसम्म) मा थारु समुदायका युवायुवती बढिरहेका छन् । “हामीले काम शुरु गर्दा नेपालीले पनि राम्रो काम गर्लान् र भनेर विश्वास नै गर्थेनन्”, खुनाले भन्नुभयो, “लकडाउन खुकुलो भएपछि नेपाली पेन्टरहरुलाई काम भ्याननभ्याइ छ ।”

स्थानीय युवाहरु सीपमूलक काममा अग्रसर हुन थालेपछि भारतीयहरु विस्थापित भइरहेका छन् । लामो समयदेखि बर्जर पेन्ट खपतमा सघाउ पुर्याएपछि तीन सातअघि मात्रै बर्जर पेन्टको कम्पनीलाई खुनालाई पल्सर मोटरसाइकलसमेत प्रदान गरेको छ । “योभन्दा पहिले पनि मलाई एउटा मोटरसाइकल मिलेको थियो”, उहाँले भन्नुभयो, “काम खोज्दा सहयोग गर्दै आएको यहाँको जयलक्ष्मी ट्रेडर्सलाई कहिल्यै भुल्दिन ।” खुनाका बुबा भीमदत्तनगरपालिका कार्यालयमा सवारीसाधन मर्मत शाखामा कार्यरत हुनुहुन्छ । उहाँका भाइ सहकारीमा जागीरे छन् । उहाँले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको नेपाल–भारत सीमानाका बन्दका कारण भारतीय पेन्टरहरु यहाँ आउन नपाएको बताउनुभयो । “मौका दिए मै तालीम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सक्छु”, उहाँले भन्नुभयो, “प्राविधिक शिक्षामा विपन्न समुदायका नागरिकको पनि पहुँच भए फलदायी हुनसक्छ ।” कामको अनुभव सुनाउँदै खुनाले ठूला घरमा रङरोगन गर्दा मजदुरको बीमासमेत गर्ने गरेको बताउनुभयो । पछिल्लो समय सालघारीका ३० जनाभन्दा बढी थारु समुदायका युवा पेन्टरका रूपमा यहाँको बजार क्षेत्रमा कार्यरत छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology