• Monday 3rd of August 2026

नेपाल–भारत सीमानाका बन्द हुँदा पेन्सनधारी समस्यामा


  • गोकर्णेश्वर अनलाइन

नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन् । भारतीय सेना र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपालीलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको छ । भारतीय बैंकमार्फत पेन्सनको पैसा बुझ्ने भएकोले नाका बन्द हुँदा पेन्सनधारी समस्यामा परेका हुुन् । पेन्सनकै भरमा रहेकालाई घरधन्दा चलाउन समस्या भएको भुतपूर्व सैनिक संघ बैतडीका संस्थापक अध्यक्ष जीतसिंह थापाले जानकारी दिनुभयो । जिल्ला प्रशासनलाई १५ दिन अगाडि नाका खोल्न पहल गर्नका लागि अनुरोध गरेको भएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “पेन्सनधारीलाई नाका नखुुल्दा खान लाउन, औषधि उपचारका लागि पैसा नहुँदा समस्यामा परेका छन्, नाका खोल्नको लागि सरकारले वास्ता गरेको छैन ।” यसअघि तीन महिना अगाडि तीन दिनलाई नाका खोलेको भएपनि त्यो समयमा सबैले पेन्सन बुुझ्न नपाएको थापाको भनाइ थियो । उहाँले भन्नुभयो, “जिल्लामा एक हजार दुई सय भारतीय पेन्सनधारी रहेपनि त्यो बेला ४ सय ३८ जनाले पेन्सन बुझ्न पाए, कोही धनगढी, कोही महेन्द्रनगरमा भएकाले समय अपुुग हुँदा सबैले बुुझ्न पाएनन् ।”

जिल्ला प्रशासन कार्यालय बैतडीले भने नाका खोल्न प्रयासरत रहेको जनाएको छ । दुई देश सहमत भएपछि मात्रै नाका खोल्न सकिने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुुभयो । उहाँले भन्नुभयो “पेन्सनधारीको समस्याबारे स्थानीय प्रशासन जानकार छ, सरकारलाई लिखित र मौखिक जानकारी गराईएको छ ।” भारतसँग पनि नाका खोल्न आग्रह गरेकाले दुईपक्षीय सहमतीमा चाँडै नाका खोलिने प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology