• Saturday 25th of July 2026

कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा


  • गोकर्णेश्वर अनलाइन

महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ । सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित साना किसान कृषि सहकारी संस्थाले कोरोना प्रभावित शेयर सदस्यलाई आयआर्जन र उत्पादनमा जोड्ने उद्देश्यले ऋणको ब्याजमा भारी छुटको घोषणा गरेको हो । लकडाउन अवधिमा समेत कतिपय सहकारीहरुले ब्याजमा हर्जना असुलिरहेको गुनासो आइरहेका बेला उक्त सहकारीले भने विभिन्न क्षेत्रमा सहुलियतपूर्ण ऋणको ब्याजदरको कार्यक्रम अघि सारेको हो ।

सहकारीका प्रबन्धक हरिप्रसाद पौडेलले यो व्यवस्था आगामी कात्तिक १ गतेदेखि लागू हुने बताउनुभयो । “कोरोना प्रभावितका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेर राहत प्याकेज ल्याएका हौँ”, उहाँले भन्नुभयो, “नयाँ उद्यम गर्न चाहनेलाई सस्तो ब्याजदरले राहत मिल्नेछ, निक्षेपतर्फ पनि ११ प्रतिशतसम्म ब्याजको व्यवस्था गरिएको छ ।” सहकारीले यसअघि १५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्दै आएको थियो । प्रबन्धक पौडेलका अनुसार लघुकर्जामा ब्याज १३.५५ प्रतिशत, आकस्मिक ऋणको ब्याज १२ प्रतिशत, मासुजन्य–दूधजन्य–तरकारीजन्यमा नौ प्रतिशत, स्वालम्बन कर्जा ब्याज १० प्रतिशतमा दिने निर्णय भएको छ । साना किसान सहकारी संस्थाले नयाँ सहकारी ऐनअनुसार २०७७ असोज मसान्तसम्म एक स्थानीय तहमा एकै प्रकृतिको एउटा मात्र सहकारीमा आवद्ध हुनुपर्ने कानूनी प्रावधान भएकाले आफ्ना सेयर सदस्यहरुलाई कुनै एक सहकारी रोज्न आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology