• Monday 3rd of August 2026

बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउ


  • गोकर्णेश्वर अनलाइन

शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीमा रहेको बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको छ । कोरोनाको सङ्क्रमण फैलिँदै जादा जोखिम बढे पनि झर्ना पुग्ने पर्यटकको सङ्ख्यामा कुनै कमी आउन सकेको छैन । दैनिक झर्ना अवलोकन र झर्नाको पानीमा नुहाउनेको सङ्ख्या थपिँदै जादा कोरोनाको जोखिम उत्तिकै बढेको छ । दैनिक झर्ना अवलोकनका लागि २०० देखि ६०० बढी आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन । शनिबारलगायत बिदाका दिन झर्ना क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिएको हुन्छ । झर्ना अवलोकन गर्न आउनेका कारण निकै भीड हुन थालेपछि वडा कार्यालयले झर्ना जानमा केही दिनका लागि रोक लगाए पनि चोरी छिपी झर्ना पुग्नेको सङ्ख्यामा कमी आउन नसकेको वडा अध्यक्ष बहादुर महराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अझै पनि झर्ना जानमा अनुमति दिएका छैनौँ, तैपनि जोखिम मोल्दै झर्ना पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या घटन सकेको छैन ।” उहाँका अनुसार झर्ना पुग्नेमा युवा नैै बढी छन् । कोरोना भाइरसको सङ्क्रमणबारे झर्ना अवलोकनका लागि आउने पर्यटकलाई सचेत पार्ने कार्यसमेत भइरहेको उहाँको भनाइ छ । पहाडको माथिबाट झर्दै गरेको निश्चल पानीको अद्भूत दृश्य नियाल्नकै लागि जोखिमको बेवास्ता गर्दै पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।

असहज बाटो छिचोल्दै आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर झर्नाको चिसो पानीमा नुहाउँदै तराईको गर्मीलाई बिर्सनका लागि यहाँ पुग्ने गरेका छन् । चराको चिरविर आवाज सुन्दै झर्ना भएको ठाउँमा हिँड्दै गरेका बेला नजिकैबाट जङ्गली जनावर उफ्रिँदै हिँडेको दृश्य देख्न सकिन्छ । वडा कार्यालयले धारापानी गाउँसम्म झर्ना पुग्नका लागि सडकको ट्रयाक खोलेको छ । चालू आवमा सडक कालोपत्रेको कार्यलाई अगाडि बढाइएको छ । पूर्व पश्चिम राजमार्गको झलारीदेखि धारापानी गाउँसम्म मोटरसाइकललगायत सवारीसाधनमा चढेर सहज रुपमा पुग्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology