• Monday 3rd of August 2026

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शैक्षिक गतिविधि सञ्चालन


  • गोकर्णेश्वर अनलाइन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नयाँ उपकुलपतिको आगमनसँग विश्वविद्यालयमा केही सुधारको सङ्केत देखिएको छ । लामो समयसम्म बन्द हडतालका कारण अस्तव्यस्त भएको विश्वविद्यालयमा गत वर्ष कात्तिकबाट रोकिएका परीक्षाफल प्रकाशित भएका छन् भने अन्य शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः सञ्चालन भएका छन् । विद्यार्थीहरु नवौँँ सेमेस्टरका पुग्दा पनि छैटौँ सेमेस्टरको परीक्षाफल आएको थिएन । अब रोकिएका परीक्षा र परीक्षाफल पुनः सञ्चालन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका कुलपति डा पुण्यप्रसाद रेग्मीले रोकिएका शैक्षिक गतिविधिहरु पुनः सञ्चालन भएको बताउनुभयो । “अनलाइन पद्धतिबाट परीक्षा लिने गरी नयाँ निर्देशिका जारी गर्दैछौँ”, उहाँले भन्नुभयो, “अब कुनै पनि गतिविधि रोकिँदैन ।”

अनलाइनबाट प्राध्यापकहरुले पठनपाठन शुरु गरे पनि कोभिड–१९ का कारण परीक्षा भने लिन सकिएको थिएन । उपकुलपति डा रेग्मीले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भारतलगायत अन्तर्राष्ट्रिय देशका विश्वविद्यालयको शैक्षिक गतिविधि अध्ययन गरी यहाँ लागू गरिने जानकारी दिनुभयो । विश्वविद्यालयमा रहेका समस्यालाई समधान गर्न डिन, प्राध्यापक, कर्मचारी एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ छ । नयाँ निर्देशिका जारी भएसँगै अनलाइन पद्धतिबाटै परीक्षा हुने लगभग पक्का भएको छ । विश्वविद्यालयमा दुई महिनादेखि विभिन्न माग राख्दै यहाँका कर्मचारी तालाबन्दी गरेका थिए ।

विश्वविद्यालय प्रशासन जायज माग सम्बोधन गर्न तयार देखिएसँगै ठप्प रहेको विश्वविद्यालयले गति लिएको छ । तेह्र महिनापछि विश्वविद्यालयले नयाँ कुलपति पाएसँगै अन्योलमा रहेका विद्यार्थीलाई राहत मिलेको छ । विश्वविद्यालयका भेटेरिनरी सङ्कायका डिन मातृका जमरकट्टेलले रोकिएका गतिविधिहरु शुरु भएको बताउनुभयो । कार्यालय समयभन्दा एकदुई घण्टा बढी समय दिई यसको व्यवस्थापनमा जुटेको उहाँको भनाइ छ । “सैद्धान्तिक विषयमा परीक्षा लिन समस्या छैन”, उहाँले भन्नुभयो, “प्रयोगात्मक परीक्षाका लागि पनि व्यवस्थापन मिलाउनेबारे छलफल भइरहेको छ ।

भेटेरिनरीको प्रयोगात्मक अलि फरक हुने भएकाले विद्यार्थी उपस्थित हुनैपर्छ ।” कोभिडका कारण सानो सानो समूह निर्माण गरेरै भए पनि प्रयोगात्मक परीक्षा लिनेबारे तयारी गरिरहेको डिन जमरकट्टेलले जानकारी दिनुभयो । भेटेरिनरी सङ्कायमा फिल्ड, ल्याब र क्लिनिकल प्रयोगात्मक हुने गर्दछ । देशमा कृषि क्रान्ति गर्ने उद्देश्यसहित २०६८ सालमा विश्वविद्यालय स्थापना भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology