• Monday 3rd of August 2026

बोखिमका घरघरमा पुग्यो बिजुली


  • गोकर्णेश्वर अनलाइन

बोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ । सदरमुकाम नजिकै भए पनि बत्तीमुनि अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय वर्षौदेखि टुकीबत्तीको सहारामा बस्दै आएका थिए । वडा कार्यालयको सक्रियतामा घरघरमा बिजुली आएपछि स्थानीय दङ्ग छन् ।

स्थानीयवासी नगेन्द्रकुमार राईले भन्नुभयो, ‘‘यो सदरमुकाम नजिकैको ठाउँ हो तर पनि हामीले विगत लामो समयदेखि बिजुली बाल्न पाएका थिएनौँ, स्थानीय सरकार सञ्चालनमा आएपछि बिजुली बाल्न पाएका छौँ अहिले दैनिक कामकाज गर्न सहज भएको छ ।’’

विद्युत् विस्तार भएपछि स्थानीयले कुटानीपिसानी लगायतका सामग्रीसमेत सञ्चालनमा ल्याएका छन् भने विद्यार्थीलाई सहज बनाएको छ । विद्युत्को अभावमा मोबाइल चार्ज गर्न समस्यामा पर्दै आएका यहाँका स्थानीय अहिले विभिन्न विद्युतीय उपकरण जोडेर आफ्ना कामहरु गरिरहेका छन् । अर्का स्थानीय निच्छाकुमार राईले भन्नुभयो, ‘‘विद्युत्ले जीवन सजिलो बनाउँदोरहेछ, लामो समयदेखि हामीले धेरै दुःख भोग्दै आएका थियौँ, हामीलाई मोबाइल चार्ज गर्नसमेत समस्या थियो, अहिले विद्युतीय मिल जडान गरेका छौँ, रेडियो, टीभीको माध्यमबाट देश विदेशका सूचना थाहा पाउन सहज भएको छ, वडा कार्यालयको पहलमा भएको कामले हामी धेरै खुशी छौँ ।’’

बोखिममा स्थानीय तह कार्यान्वयन अगाडि साबिकका नौमध्ये पाँच वडामा विद्युत् विस्तार भएकोमा अहिले सबै ठाउँमा विद्युत् विस्तार भएको छ । निर्वाचित भएर आएपछि प्राथमिकता निर्धारण गरेर काम गरेकाले थोरै बजेटमा पनि नतिजामुखी काम भएको वडा कार्यालयले जनाएको छ ।

भौगोलिक रुपमा ठूलो क्षेत्र रहेकाले धेरै चुनौतीको सामना गर्दै विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष जसबहादुर राईले जानकारी दिनुभयो । केही समयपछि उज्यालो वडा घोषणा गर्नेसमेत लक्ष्य रहेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष राईले भन्नुभयो,‘‘ हाम्रो क्षेत्र उत्तरमा सुन्तले डाँडादेखि पिखुवाखोलासम्म छोएको ठूलो भू–भाग छ, हामीले वडामा आएको थोरै बजेटलाई पनि उचितढङ्गले सञ्चालन गरेर सबै ठाउँमा विद्युत् पु¥याउन सफल भएका छौँ, अब हामी उज्यालो वडा घोषणाको तयारीमा छौँ ।’’ हालसम्म भोजपुरका ४९ प्रतिशत जनता विद्युत्को पहुँचमा रहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रवीनबाबु घिमिरेले जानकारी दिनुभयो ।

वडा कार्यालयले कृषि खानेपानीको क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ । आफ्नो क्षेत्रमा एक घर एक प्लाष्टिक टनेल कार्यक्रम सञ्चालन गरेको छ भने वडा कार्यालयको बजेटमा दुई वटा खानेपानी आयोजनाको काम सम्पन्न गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । ‘‘हाम्रो वडामा पिउने पानीको पनि अत्यन्तै समस्या थियो, वडा कार्यालयको लगानीमा रु २७ लाख ५० हजार र रु १० लाख लागतमा दुई वटा खानेपानी आयोजनाको काम सम्पन्न गरेर स्थानीयलाई पानी वितरण गरेका छौँ, यी बाहेक स–साना दश बढी खानेपानी आयोजनाको काम सम्पन्न भएको छ, अब यहाँको पानीको समस्या पनि अन्त्य भएको छ,’’ वडाध्यक्ष राईले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology