• Monday 3rd of August 2026

ज्येष्ठ नागरिक स्याहार्दै भूपू सैनिक


  • गोकर्णेश्वर अनलाइन

प्रायः धेरैको सपना र योजना हुन्छ, सरकारी सेवाबाट सेवानिवृत्त भएपछि घरपरिवारसित आरामको ‘रिटायर्ड लाइफ’ बिताउने । तर कञ्चनपुरको बेदकोट नगरपालिका–७ गाउँजीका बहादुरसिंह विष्ट भने सेनाको जागिर सकेर घर आएको तीन दिनमै यहाँको वद्धाश्रममा ज्येष्ठ नागरिकको सेवामा सर्मपित हुनुभएको छ ।

बाह्र बर्षअघि नेपाली सेनामा १६ वर्ष जागिर गरेर घर आउनुभएका भूपू सैनिक ५३ वर्षीय विष्ट पत्नीसहित निरन्तर वृद्धाश्रममा आश्रय लिन आउने वृद्धवृद्धाको सेवामा खटिनुभएको छ । वेदकोटको चुरेफेदमा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा सेवारत भूपू सैनिक विष्टले २०६४ सालदेखि वृद्धाश्रममा आएको बताउनुभयो ।

“दुबई सुरक्षा गार्डमा जाने भनेर तयारी थियो”, विष्टले भन्नुभयो, “वृद्धाश्रममा सेवा गर्दैजाँदा विदेशको कमाइभन्दा वृद्धाश्रमको सेवाले आनन्दित बनायो ।” पत्नी रम्वादेवी विष्टसहित वृद्धाश्रममा ज्येष्ठ नागरिकको स्याहारमा खटिएका विष्टले हरेक दिन आफू यहाँको समग्र सरसफाइदेखि वृद्धवृद्धाको नुहाउने, कपडा धुने र बिरामी पर्दा उपचारका लागि लैजाने गरेको बताउनुभयो । “विसं २०६५ मा एक जना वृद्ध आमा राखेर यो वृद्धाश्रम सञ्चालनमा आएको थियो”, उहाँले भन्नुभयो “अहिले अशक्तसमेत गरेर १५ जना आश्रित हुनुहुन्छ ।”

केही समयअघिसम्म जङ्गली जनावरको समेत त्रास रहने वृद्धाश्रम क्षेत्रमा केही समयअघि महेन्द्रनगरका युवा व्यवसायी दिनेश मल्लको सामग्री सहयोग र यहाँस्थित सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको जनशक्तिको सहयोगमा वृद्धाश्रमको चौतर्फी पक्की पर्खाल निर्माण गरिएको थियो ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले केही भवन संरचनाहरु निर्माण गरिदिएको छ भने बेदकोट नगरपालिकाले ६ कोठे भवन निर्माण गरिरहेको विष्टको भनाइ छ । “शरीरमा ताकत सकिएपछि थला पर्ने बेला आउनुहुने आमाबुबाको सेवा गर्न पाउनु नै मेरा लागि ठूलो विषय हो”, विष्टले भन्नुभयो “ज्येष्ठ नागरिकको सेवा गर्नु सबैले दायित्व सम्झिनुपर्छ ।”

पछिल्ला वर्षमा वृद्धाश्रममा जन्मदिन, विभिन्न दिवस तथा अवसर पारेर सरकारी तथा गैरसरकारी निकाय र दाताको सहयोगले चलेको छ । “वार्षिक रुपमा अलिकति बजेट नगरपालिकाले पनि दिने गरेको छ”, उहाँले भन्नुभयो “विस्तारै वृद्धाश्रम समृद्ध बन्दै गएको छ ।”

गाउँमा पाँच कठ्ठा जमिनमा हुने खेतीपातीबाट जीविका चलाउँदै आउनुभएका विष्टले छोरो भारतमा मजदुरी गर्ने गरेको बताउनुभयो । “यहाँ शुरुमा मैले निःशुल्क रुपमा काम गरे”, उहाँले भन्नुभयो “अहिले समितिले हामी दम्पतीलाई रु १५ हजार पारिश्रमिक दिने गरेको छ ।”नेपाली सेनाबाट आफूसित सेनानिवृत्त भएर आएका सहपाठी कोही विदेश र केहीले स्थानीयस्तरमै व्यापार÷व्यवसाय सम्हालेको उहाँको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology