• Monday 3rd of August 2026

आँखा फुटेको हात्तीलाई बेहोस बनाएर उपचार


  • गोकर्णेश्वर अनलाइन

बाहुनडाँगीमा आज एउटा घाइते हात्तीलाई समातेर पशु चिकित्सकले सफल उपचार गरेका छन् । विगत तीन वर्षदेखि आँखा नदेख्ने समस्याका कारण जथाभावी डुल्दै स्थानीयको घरबालीमा क्षति पु-याउँदै आएको वयस्क भाले हात्तीलाई वन कार्यालयको टोलीले मेचीनगर नगरपालिका–३ स्थित तेलपानी जङ्गलभित्र बेहोस बनाउने गोली हानेर समातेको थियो ।

चितवनको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट वरिष्ठ पशुचिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले घाइते हात्तीको उपचार गरेको हो । चितवनबाट औषधि बोकेर चार जनाको टोली आएको थियो ।

बाहुनडाँगीको जङ्गलमा सो हात्ती देखा परेको सूचनाका आधारमा वन कार्यालयबाट खटिएको टोलीले पछ्याउँदै जाँदा तेलपानी सामुदायिक वनको तीन किलोमिटर भित्र झाडीमा लुकिरहेको अवस्थामा फेला पारिएको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।

बिहान १०ः०० बजे एक पटक र त्यसको एक घण्टापछि अर्को पटक बेहोस बनाउने औषधि मिसाइएको गोली हानिएपछि मात्र हात्ती बेहोस भएर ढलेको थियो । बेहोस भएको आधा घण्टाभित्र पशुचिकित्सक टोलीले हात्तीको उपचार गरिसकेको थियो । बेहोस बनाउन र उपचारको प्रक्रिया पूरा गर्न टोलीलाई तीन घण्टा लागेको थियो ।

चिकित्सक टोलीका प्रमुख डा श्रेष्ठले हात्तीको दाहिने आँखा धेरै पहिले चोटका कारण फुटेको र शरीरका विभिन्न अङ्गमा तिखो भाला तथा तीरले घोपिएका घाउ भेटिएको बताउनुभयो । “दाहिने आँखाको ज्योति गुमिसकेको रहेछ, देब्रे आँखाको दृष्टि पनि न्यून छ”, वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठले भन्नुभयो, “घाउचोटको उपचार गरेका छौँ ।” उपचार सकिएलगत्तै हात्ती व्युँझिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology