• Monday 3rd of August 2026

हराउँदै रातो माटो, खोटो र कमेरोले घर रङ्गाउने प्रचलन


  • गोकर्णेश्वर अनलाइन

विगतमा दशैँ र तिहारको समयमा रातो माटोसहित खोटो र कमेरोले घर रङ्गाउने प्रचलन हराउँदै गएको छ । विशेष गरी परम्परागत शैलीका ढुङ्गा, माटो तथा काठको प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्दथ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो ।

झण्डै दुई दशक अघिसम्म दशैँ अघि पोखरा महानगरपालिका–३३ स्थित बरभोटेनीमा घर रङ्गाउनका लागि यहाँका बरमाझथर, बरपौवा, बरधारापानीलगायत स्थानबाट ठूलै सङ्ख्यामा सर्वसाधारण माटो लिन जान्थे । पछिल्लो समयमा अधिकांश घरमा सिमेन्टको प्रयोग हुन थालेसँगै माटो ल्याउने प्रचलन हराउँदै गएको हो ।

बरभोटेनीको माटोले लिपपोत गरेपछि विगतमा गाउँका घरहरू रातो देखिने र चिटिक्क पर्ने स्थानीयवासी सुनिता थापाले सुनाउनुभयो । बरभोटेनीको माटोसँगै घर सजाउन यहाँका स्थानीयले सिलाङ्गे खोलाको कमेरो र पावनडाँडा छबीसेबाट ल्याइएको सालको लोप्रा पकाएर बनाइएको खोटो प्रयोग गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

पछिल्ला समयमा सिमेन्टको प्रयोग बढ्न थालसँगै सर्वसाधारणले माटो, कमेरो र खोटोको विकल्पमा आधुनिक रङको प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।
रातो माटोसँगै घरलाई सजाउन खोटो पकाएर झ्याल ढोकामा लगाउने तथा कमेरो लगाउने प्रचलन पनि हट्दै गएको उहाँले जानकारी दिनुभयो । विशेष गरी छिप्पिएको सालको लोप्रा ताछेर पानीमा पकाएर कालो रङको खोटो तयार गरिन्छ । सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एक पटक झ्याल ढोकामा लगाए पछि धमिराले नखाने तथा धुल्याहा नलाग्ने बुढापाकाको अनुभव छ ।

“विगतमा घरमा रातो माटो, खोटो र कमेरोले लिपपोत गर्नु दशैँ तिहारसँगै जोएिको संस्कृतिको अर्को पाटो जस्तै बनेको थियो,” उहाँले भन्नुभयो, “आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुरा इतिहास जस्तै बन्ने गरेका छन् ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology