• Monday 3rd of August 2026

सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपालीको सङ्ख्या बढ्यो


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपाली जनशक्तिको उल्येख्य वृद्धि भएको बताउनुभएको छ । सडक कालोपत्र गर्ने काममा भारतीय तथा तेस्रो देशका मजदूरले मात्रै काम गर्ने गरेको बताउँदै मन्त्री फुयाँलले पछिल्ला दिनमा नेपाली सडकमा नेपाली मजदूर अझ महिलाको समेत सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुभयो ।

रासससँग कुरा गर्दै मन्त्री फुयाँलले अन्यत्र गएर विभिन्न प्रकारका मजदुरी गर्ने नेपाली कोरोना कहरका कारण थन्किएको अवस्थामा पूर्वाधार निर्माणका क्षेत्रमा थुप्रै जनशक्ति खपत गरिएको जानकारी दिनुभयो । मन्त्री फुयाँलले केही दिनपहिले मात्रै शिलान्यास गरिएको काभ्रेका सडकमा महिला मजदूरले काम गरिरहेका देखिएको हेटौँडा–काठमाडौँका सडकमा समेत महिला–पुरुषले संयुक्त रूपमा काम गरिरहेका बताउनुभयो ।

नेपालमा हुने विभिन्न काममा नेपाली जनशक्ति प्रयोग गर्न सकियो भने पनि बेरोजगारी समस्या समाधान हुने तथा विदेशिएका जनशक्तिलाई स्वदेशमै स्थापित गराउन सकिने उहाँको भनाइ थियो । उहाँले अटोमोबाइलको क्षेत्रमा भने अझै पनि नेपाली मिस्त्री तथा मजदूरको अभाव रहेकाले सरकारले त्यो पूर्ति गर्नका लागि विशेष योजना बनाएको बताउनुभयो । मन्त्रालयले अटोभिलेजको निर्माण गर्ने र इच्छुक महिला–पुरुषलाई संयुक्त रुपमा अटो मेकानिक्सको तालीम दिने तयारी थालेको जानकारी दिनुभयो । तालीममा दम्पतीलाई सहभागी गराइने उहाँको भनाइ थियो ।

मन्त्री फुयाँलले प्रदेश सरकार स्वदेशी श्रमिकलाई स्वदेशमै रोजगार उपलब्ध गराउन प्रयासरत रहेको बताउनुभयो । “हामीले गर्ने हरेक निर्माणमा बेरोजगारहरुलाई बढीभन्दा बढी रोजगारी उपलब्ध गराउन के गर्न सकिन्छ भन्ने हाम्रो ध्याउन्न हुन्छ, प्रदेशका हरेक मन्त्रालयका गतिविधि कहीँ कतै बेरोजगारी समस्या समाधानका लागि हुने गर्छन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology